धरान, असाेज २४
धरानकाे वीपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकले लकडाउन गर्न सुझाव दिएका छन । सुनसरीमा दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएपछि आज इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच छलफल भएको थियाे ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार अक्सिजन चाहिने सिकिस्त संक्रमित विरामीहरुलाई पुर्वमा कही पनि अक्सिजन भएको बेड पाउने अवस्था छैन । त्यसैले संक्रमित संख्या अझै बढ्न नदिन र स्वास्थ्य संस्थाहरुले धान्न सक्ने अवस्था नभएसम्मलाई लकडाउन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । चिकित्सकहरुले लकडाउन गर्न सुभाव दिए पनि प्रशासन र जनप्रतिनिधिहरुले भने अन्य सरोकारवाला पक्षहरुसँग छलफल गरेर मात्र निर्णय लिने प्रतिक्रिया दिएका छन् ।
वीपी प्रतिष्ठानका फोक्सो रोग बिशेषज्ञ एवं कोरोना उपचारमा सक्रिय डा.दिव्यराज मिश्रका अनुसार एक लाख जनसंख्यमा २५० भन्दा बढी सक्रिय विरामी भएमा जनस्वास्थ्यको दृष्टिकोणले अत्यन्तै जोखिमको अवस्था हुन्छ । त्यसैले संक्रमण अझै बढ्न र भयावह अवस्था हुन नदिन लकडाउनलगायत अन्य उपायहरु गर्नुपर्ने हुन्छ । ‘धरानमै पनि अढाई सय मात्र होइन, एक्टिभ केस ६ सय हाराहारी पुगिसक्यो । सिकिस्त विरामीलाई पुर्वमा नै अक्सिजन भएको बेड पाउनै गाह्रो छ । कोरोनालाई जति बेड बनाइयो, त्यसले नधान्ने अवस्था भइसक्यो,’डा.मिश्रले भने,‘अब विरामीको संख्या घटाउनु पर्छ, त्यसको लागि लकडाउन नगर्ने हो भने चहलपहल भइरहन्छ, संक्रमित बढीरहन्छ र अवस्था झन् भयावह हुन्छ ।’
लकडाउ गरेपछि जति विरामी छन्, उनीहरुलाई उचितढंगले व्यवस्थापन र उपचार गरेर संख्या कम गर्दै जान सकिने डा.मिश्रको भनाई छ । त्यसो नगरे अस्पतालमा भर्ना गर्ने ठाउँ नभएर मृत्युदर बढ्ने उनले बताए । ‘बच्न सक्ने विरामीको पनि मृत्यु हुन्छ,’उनले भने ।
जनस्तरमा लावरवाही भयो: डा.बराल
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वराल पनि वीपीको क्षमता अनुसारको बेड भरिसकेकोले चुनौती भएको बताउँछन् । आम मानिसहरुले कोरोना केही होइन भनेर लापरवाही गरिरहेको र सिकिस्त अवस्थामा मात्र अस्पताल आउन थालेकोले झन् समस्या भएको उनले बताए ।
‘हामी महामारीको पिकमा छौं तर जनताको तहमा जुन सावधानी अपनाउनुपर्ने हो भइरहेको छैन । कोरोना केही पनि होइन भन्ने छ तर समस्या हुँदा त श्वासप्रश्वासमा नै हुने हो, र त्यति बेला अक्सिजन, भेन्टिलेटर नै चाहिन्छ,’डा.वरालले भने,‘सिरियस विरामी एक्कासी आइपुग्दा बेड मेनेज गर्न सकिदैन । बेड भरिएर इर्मजेन्सी र वार्डमा विरामी कुरिरहेका छन् ।’
अस्पतालमा सिमित स्रोत साधान भएको तर संक्रमणको दर अत्यधिक बढेर थेग्न नसकिने अवस्था भएको उनले बताए । अब संक्रमण रोक्नु नै उत्तम उपाय भएकोले लकडाउन गर्न सुझाव दिइएको बताए । ‘अहिले जति संख्या छ, त्यति संख्यामा रोक्नुपर्छ, र उपचारमा केन्द्रीत हुनुपर्छ,’डा. वरालले भने,‘लामो होइन, छोटो लकडाउन गर्ने । संख्या कम हुदै गएर अस्पतालले धान्न सक्ने अवस्था भएपछि खोल्दै जाने ।’ जनस्तरमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने, भिडभाड हुने पार्टी र कार्यक्रमहरु गर्ने गरेकोले संक्रमण फैलिदै गएको उनले बताए ।
थप छलफल पछि निष्कर्षमा पुग्छौं: सिडिओ
बैठकमा सहभागी सुनसरीका सिडिओ फडिन्द्रमणी पोखरेलले बिशेषज्ञ डाक्टर, इटहरी र धरानका जनप्रतिनिधिको धारणा सुनेको र आइतबार थप छलफल गरेर अवश्यक निर्णइ लिइने बताए । ‘बन्द गर्न पनि गाह्रो छ, नगरि पनि भएको छैन । आज धरान र इटहरीसँग कुरा गरे, भोली इटहरीसँग छुट्टै बस्छुँ, र केही निष्कर्षमा पुग्छौं,’सिडिओ पोखरेलले भने । बैठकमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी र इटहरीबाट मेयर, उपमेयर सहभागी थिए ।
भर्खर खुलेकोले तत्काल लकडाउन गर्न सक्दैनौंः उपमेयर भण्डारी
धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले लकडाउन खुलेको धेरै समय नभएकोले तत्काल पुनः लकडाउन गर्ने अवस्था नभएको बताइन् । लकडाउनको सट्टा वडाका जनप्रतिनिधि, टिएलओ, विभिन्न सामाजिक तथा जातीय संघसंस्थाहरुलाई सचेतनाको लागि परिचालन गर्ने, होम आइसोलेसनमा बसेकाहरुलाई अनुगमन गर्ने र संक्रमण फैलन नदिन सजगता अपनाउने लगायत कार्ययोजना बनाएर जाने धारणा राखेकी थिइन् ।
‘आर्थिक, सामाजिकरुपमा तत्काल लकडाउन गरिहाल्ने अवस्था छैन, भर्खर खुलेकोले सबैतिरबाट दबाब छ, बरु उच्च सावधानी अपनाउनुपर्छ,’उनले भनिन्,‘संघीय सरकारले सबै क्षेत्र खोलेको छ, हामी मात्र बन्द गर्दैमा बन्द हुन पनि गाह्रो छ ।’ लडकाउनको सट्टा ठुला सहरले बिशेष सावधानी अपनाउने, समुदायस्तरमा सचेतना कार्यक्रम गर्ने, पोजेटिभलाई व्यवस्थापन र भिडभाडलाई नियन्त्रणको लागि के गर्ने भनेर कार्ययोजना बनाउने उनले बताइन् । ‘यो बिषयमा अन्य सरोकारवाला पक्ष र नगर कार्यपालिकामा गम्भीरढंगले छलफल गछौं,’उनले भनिन्। (क्लिक धरान)