विराटनगर, असाेज २४
प्रदेश १ मा कोरोना संक्रमण दर उच्च अवस्थामा पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकले संक्रमण दर उच्च रहेकाे पुष्टि गर्छ ।
मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रदेशमा संक्रमण दर प्रति सयमा ६० प्रतिशत भन्दा माथि छ ।
मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५६८ जनाको जाँच गर्दा ३२३ जनाको रिपोर्ट पोजेटिभ छ । पछिल्लो २४ घण्टामा कोशी अस्पतालमा ४८९ जनाको पीसीआर जाँच गर्दा २४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश प्रयोगशालामा ३४२ जनाको जाँच गर्दा १५२ जनाको रिपोर्ट पोजेटिभ छ ।
बिहीबार बीपी प्रतिष्ठानमा १७४ जनाको पीसीआर गर्दा ८३ को रिपोर्ट पोजेटिभ देखिएको छ । कोशीमा १९० जनाको पीसीआर गर्दा ७३, नोबेल मेडिकल कलेज विराटनगरमा ६२८ जनाको पीसीआर गर्दा ४६३ जनाको रिपोर्ट पोजेटिभ छ ।
बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३९० जनाको पीसीआर जाँच भयो । जसमा १९७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोशीमा ४७४ जनाको पीसीआर जाँच हुँदा २८१ जनाको रिपोर्ट पोजेटिभ आयो । प्रदेश प्रयोगशालामा २७५ जनाको जाँच गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ छ ।
मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार संकलन भएको स्वाबको आधा भन्दा बढीको रिपोर्ट पोजेटिभ देखाएको छ । यो रिपोर्टले प्रदेशमा कोरोनाको भयावह रहेको देखाउने जनस्वास्थ्यविद डाक्टर नवराज सुब्बा बताउँछन् ।
प्रदेश १ काे मोरङ सुनसरीमा संक्रमण ब्यापक छ । कोशी नोबेल र बीपीमा जाँच गराउने मोरङ र सुनसरीकाहरु छन् । अस्पताल पुगेर जाँच गराउने प्रत्येक दुइमा एकजनाई कोरोना पोजेटिभ देखिएको छ । शनिबारसम्म प्रदेश १ मा संक्रमितको संख्या ९ हजार ८९२ पुगेको छ । जसको आधा संख्या मोरङ जिल्लामा छ । मोरङमा ४ हजार ९ सय २७, सुनसरी जिल्लामा ३००७ जना कोरोना संक्रमित छन् ।
लक्षण देखिएका अस्पतालमा, नदेखिएका बजारमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका व्यक्तीलाई कोरोना जाँच नगर्न आग्रह गर्दै आएको छ ।
पछिल्लो समय कोरोना जाँचका लागि लक्षण भएका विरामी मात्र आउने गरेका छन् । जसका कारण परीक्षणमा आएका मध्ये आधा भन्दा बढीलाई पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्की बताउँछन् ।
‘लक्षण भएकाको मात्र जाँच हुँदा आधा भन्दा बढीमा पोजेटिभ देखिनु सामान्य हो ।’ उनले भने ‘धेरै मानिस परीक्षणको दायरमा आएकै छैनन् ।’
कार्कीका अनुसार पीसीआर जाँचका लागि जानेहरु लक्षण भएका र संक्रमितको क्लोज कन्ट्याकमा परेकाहरु धेरै छन् । ‘ कोशी र बीपीमा लक्षणसहित पुगेका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको धेरै जाँच हुन्छ ।’ उनले भने ‘ अन्य क्षेत्रमा संकलन भएको नमुना प्रदेशमा जाँच हुन्छ ।’
अस्पताल पुग्नेहरु लक्षणसहितका हुने र स्थानीय सरकारले क्लोज कन्ट्याकमा परेकाहरुको नमुना संकलन गर्दा पोजेटिभ आउने सम्भावना धेरै हुने उनले बताए । कन्ट्याक ट्रेसिङमा परेका सबै मानिस जाँचका लागि नआउँदा संक्रमण फैलिरहेको उनको विश्लेषण छ ।
कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव संक्रमणको दर नियन्त्रण बाहिर गएको बताउँछन् । उनका अनुसार अस्पतालसम्म पुग्ने अधिकांश मानिस लक्षणसहितका छन् ।
लक्षणसहितका संक्रमित बढ्दै जादा उपचारका लागि स्वास्थ्य संरचनाले धान्न नसक्ने उनले बताए । ‘अहिलेकै अवस्थामा बेड पाउन गाह्रो छ ।’ उनले भने ‘सतर्कता कमजोर छ, भोली झन भयावह अवस्था आउँछ ।’ सतर्कता नअपनाए सबै नेपालीलाई कोरोना संक्रमणले भेट्ने उनले बताए । ‘भ्याक्सिन बनेको छैन्, संक्रमणदर अत्याधिक छ ।’ उनले भने ‘ अवस्था यही रहे सबैलाई कोरोनाले भेट्छ ।’
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की नागरिकको लापरवाहीले गर्दा सबैलाई संक्रमणले भेट्ने बताउँछन् । कार्की आफै कोरोना पोजेटिभ आएर आइसोलेसनमा बसेका छन् ।
‘विकसित देशमा राज्यले नियम लागु गर्दा नागरिकले मानेका छन् , जसले संक्रमण नियन्त्रणमा आउदैछ ।’ उनले भने ‘हाम्रोमा मास्क लगाउन मान्दैनन्, संक्रमितहरु बजार बजार पुग्छन् ।’
शंकास्पद व्यक्तीलाई र संक्रमितलाई व्यवस्थापन गर्न नसकिए नेपालको अवस्था कल्पना बाहिरको हुने उनले बताए । ‘राज्यले मात्र गर्न सक्दैन् ।’ उनले भने ‘ अब नागरिक आफै जोगिनुको बिकल्प छैन् ।’
दशै पछि अस्पतालले धान्न सक्दैनन् !
जनस्वास्थ्यविद डाक्टर नवराज सुब्बा संक्रमणको दर उच्चविन्दुमा रहेकाे बताउँछन् । प्रत्यके दुई जनामा जाच गर्दा एक जनालाई पोजेटिभ देखिनु खतराको संकेत भएको उनले बताए ।
दशै नजिकिदै गरेका कारण महामारी झन भयावह अवस्थामा पुग्ने उनको दाबि छ । ‘दशै तिहार नजिकिैदछ, यो बेला मुभमेन्ट धेरै हुन्छ ।’ उनले भने ‘ चाडबाडको चहलपहलले अवस्था झन भयावह बनाउँदैछ ।’
संक्रमणयहि अवस्थामा वृद्धिभए नेपालको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउने उनले बताए । ‘दशै तिहार पछि संक्रमण र मृत्युदर बढ्दै जान्छ ।’ उनले भने ‘ हाम्रो देशको स्वास्थ्य प्रणाली अत्यन्तै कमजोर छ । विरामीलाई धान्न सक्दैनन्, स्वास्थ्यकर्मी नै संक्रमित हुने भएकाले भएका अस्पतालमा पनि उपचार पाउन गाह्रो हुन्छ ।’ राज्य र नागरिक बेलैमा सचेत भए अवस्थालाई काबुमा राख्न सहज हुने उनले बताए ।