उर्लाबारी, २४असोज । मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्धारा दमक – ४ ताराबारीमा संचालित बहुप्राविधिक शिक्षालयका लेखा तथा प्रशासन अधिकृत मुक्तिनाथ दाहालको देहत्यागका विषयमा छानबिन गर्न समिति गठन भएको छ ।
कोभिड – १९ को संक्रमण जोखिमका कारण जुम एप मार्फत बसेको प्रतिष्ठानको कार्यसमितिले बैठकले घटनाको सत्यतथ्य कारण पत्ता लगाउन निबर्तमान राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीसहित, सुमित्रा भण्डारी, नारायण वस्ती, खोमप्रसाद बगाले, सोम निरौला र भोला दाहाल रहनुभएको छ । सो समितिले १५ दिनभित्र छानबिन कार्य सम्पन्न गरी प्रतिवेदन कार्यसमितिमा पेश गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले घटनाको छानबिन पक्रिया पुरा नभएसम्मका लागि कार्यकारी निर्देशक बिनोद अर्याललाई कार्यालयको कामकारबाही नगर्न निर्देशन दिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालद्धारा आज जारी बिज्ञप्तीमा उल्लेख छ । बैठकले दाहालको देहत्यागको वास्तविक सत्यतथ्य पत्ता लगाउन र उहाँको परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न प्रतिष्ठान कार्यसमिति र प्रतिष्ठान परिवार प्रतिबद्धताका साथ लाग्ने निर्णय भएको छ ।
बैठकले स्व. दाहालको अनुपस्थितिमा उहाँकी श्रीमती शान्ता अधिकारी दाहाललाई प्रतिष्ठानको सेवामा स्थायीत्व र उहाँका छोराहरु इशान र श्रेयन दाहालको स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिन प्रतिष्ठानले अभिभावकत्व ग्रहण गर्ने निर्णय समेत गरेको छ । बैठकले गत असोज २० गते प्रतिष्ठानका अध्यक्ष बराल मृतक दाहालको निजी निवासमा समवेदना प्रकट गर्न र अत्त्येष्टिमा सहभागी हुन पुगेको अवस्थामा अवाञ्छित तत्वबाट भएको भौतिक आक्रमणको निन्दा एवम् भत्सर्ना समेत गरेको छ । दाहालले गत असोज १९ गते शिक्षालयभित्रै देहत्याग गर्नुभएको थियो ।