आईपीएल २०२० अन्तर्गत २१ औं खेलमा दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्सले महेन्द्र सिंह धोनी कप्तानीकोक चेन्नाई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ।
खेलमा पहिले ब्याटिंग गर्दै कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभर ब्याटिंग गरे पनि चेन्नाईले ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
चेन्नाईको ब्याटिंगमा ओपनर शेन वाटसनले सर्वाधिक ५० रन बनाए। लगातार दोश्रो अर्धशतक बनाउने क्रममा उनले ४० बलमा ६ चौका र १ छक्का प्रहार गरे। अम्बाती रायडुले २७ बलमा ३० रन ( ३ चौका ) बनाए तथा रभीन्द्र जडेजाले अविजित २१ रन ( ८ बलमा ३ चौका र १ छक्का ) बनाए। फाफ डु प्लेसी र स्याम करनले समान १७ रन तथा महेन्द्र सिंह धोनीले ११ रन बनाए।
३० रनको ओपनिंग साझेदारी गरेपछि चेन्नाई ओपनर डु प्लेसीलाई शिभम माभीले विकेटकिपर दिनेश कार्तिकबाट क्याच आउट गराएका थिए। त्यसपछि वाटसन र अम्बाती रायडुले दोश्रो विकेटको लागि ६९ रनको साझेदारी गरे।
१३ औं ओभरमा रायडुलाई कमलेश नगरकोटीले शुभमन गिलबाट क्याच आउट गराएपछि भने चेन्नाईले लगातार विकेट गुमायो। १४ औं ओभरमा वाटसनलाई सुनिल नारायणले एलबिडब्लु आउट गराए। १७ औं ओभरमा कप्तान धोनीलाई वरुण चक्रवर्तीले बोल्ड गरे। लगत्तै १८ औं ओभरको सुरुवातमा स्याम करनलाई आन्द्रे रसेलले क्याच आउट गराए।
करन आउट हुँदा चेन्नाईलाई १७ बलमा ३९ रन आवस्यक रहेको थियो। १८ औं ओभरमा रसेलले मात्र ३ रन खर्चेर १ विकेट लिए।
अन्तिम २ ओभरमा ३६ रन आवस्यक रहंदा सुनिल नारायणले १९ औं ओभरमा १० रन खर्चिए। जडेजा र जाधबले १/१ चौका हिर्काए। त्यसपछि अन्तिम ओभरमा जित्न २६ रन आवस्यक रह्यो। रसेलले ओभरमा १५ रन मात्र खर्चिए पछि कोलकाताले जित सुनिश्चित गर्यो। ओभरको पहिलो ३ बलमा रसेलले मात्र १ रन खर्चिएपछि जडेजाले अन्तिम ३ बलमा क्रमशः छक्का, चौका र चौका प्रहार गरेता पनि जित हात पार्न चुक्यो।
१३ ओभरमा १०१/२ को अवस्थाबाट चेन्नाईले अन्तिम ७ ओभरमा मात्र ५६ रन बनाउन सक्यो।
कोलकताको बलिंगमा वरुण चक्रवर्ती ( ४-०-२८-१ ) , शिभम माभी ( ३-०-३२-१ ) , कमलेश नगरकोटी ( ३-०-२१-१ ) , सुनिल नारायण ( ४-०-३१-१ ) र आन्द्रे रसेल ( २-०-१८-१ ) ले समान १ विकेट लिए। प्याट कमिन्स ( ४-०-२५-० ) विकेटविहिन रहे।
कोलकाताको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो।
कोलकाताको ब्याटिंगमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए जुन क्रममा ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। लिगमा ३६ औं खेल खेलीरहेका उनको यो पाँचौ अर्धशतक हो। त्रिपाठी बाहेक अन्य ब्याट्सम्यानहरुले भने उल्लेख्य योगदान दिन सकेनन्।
त्रिपाठीले सुरुवात देखि एक किनार सम्लाहेर ब्याटिंग गरेता पनि अर्को किनारमा भने निरन्तर विकेट गुमाएको थियो। ३७ रनको ओपनिंग साझेदारी गरेपछि शुबमन गिल ११ रन बनाएर पाँचौ ओभरमा शार्दुल ठाकुरबाट क्याच आउट भए। त्यसपछि नवौं ओभरमा ९ रन बनाएका नितिश राना कर्ण शर्माबाट क्याच आउट भए।
११ औं ओभरमा सुनिल नारायण ( १७ ) लाई कर्णले दोश्रो शिकार बनाए। १४ औं ओभरमा ओएन मोर्गन ( ७ ) को रुपमा स्याम करनले महत्वपूर्ण विकेट दिलाए जो विकेटकिपर धोनीबाट समातिन पुगे। ७०/१ को अवस्थाबाट कोलकाता मोर्गनको विकेट जादा ११४/४ को अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने शिलशिला रोकिएन।
शार्दुल ठाकुरले १६ औं ओभरमा आन्द्रे रसेल ( २ ) को विकेट लिए। त्यसपछि १७ औं ओभरमा त्रिपाठीलाई ड्वेन ब्राभोले वाटसनबाट क्याच आउट गराए। त्यसपछि १९ औं ओभरमा कप्तान दिनेश कार्तिक १२ रन बनाएर आउट भए। प्याट कमिन्सले अविजित १७ रन बनाए जुन क्रममा ९ बलमा १ चौका र १ छक्का प्रहार गरे।
चेन्नाईको बलिंगमा ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३७ रन खर्चिए। तेश्रो विकेट लिएसंगै ब्राभो आईपीएलमा १५० विकेट पुरा गर्ने पाँचौ बलर बनेका छन्। यस अघि लासिथ मालिंगा ( १७० ) , अमित मिश्रा ( १६० ) , पियुष चावला ( १५६ ) र हरभजन सिंह ( १५० ) ले मात्रै १५० विकेट पुरा गर्न सकेका थिए। १३७ औं खेल खेल्ने क्रममा ब्राभोले कोसेढुङ्गा पार गरेका हुन्।
पियुष चावलाको स्थानमा यो सिजन पहिलो पटक मौका पाएका लेग स्पिनर कर्ण शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। शार्दुल ठाकुर ( ४-०-२८-२ ) , स्याम करन ( ४-०-२६-२ ) ले समान २ विकेट लिए। दिपक चाहर ( ४-०-४७-० ) विकेटविहिन रहे। देब्रे हाते स्पिनर रभिन्द्र जडेजाले बलिंग गरेनन्।
अंकतालिका र आगामी खेल
जितपछि कोलकाता अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। ५ खेल खेलेको कोलकाताले ३ जित र २ हार बेहोर्दै ६ अंक बटुलेको छ। समान ६ अंक रहेको बैंगलोर नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा छ। ८ अंक सहित मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा छ।
हारपछि चेन्नाई पाँचौ स्थानमा यथावत रहेको छ। ६ खेलमा चेन्नाईले २ जित र ४ हार बेहोरेको छ। समान ४ अंक रहेता पनि हैदरावाद र राजस्थान नेट रन रेटमा पछि पर्दै छैठौं र सातौँ स्थानमा रहेको छ। ५ खेलमा १ जित मात्र हात पार्न सकेको पन्जाब पुछारमा रहेको छ।
लिग अन्तर्गत चेन्नाईले शनिबार बैंगलोरसंग तथा सोहि दिन कोलकाताले पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ। बिहिबारको खेलमा सनराइजर्स हैदरावाद र किंग्स-११ पन्जाबले प्रतिस्पर्धा गर्नेछन्।