विराटनगर, असाेज २२
आइसोलेसन बेड अभावमा विराटनगरमा होम आइसोलेसनमा बसेका दुईजना संक्रमितको मृत्यु भएको छ । सोमबार राति विराटनगर–११ र बिहीबार बिहान विराटनगर–५ मा घरमै बसेका दुईजना संक्रमित वृद्धको मृत्यु भएको हो ।
कोरोना महामारी फैलिएको विराटनगरमा संक्रमितको उपचार गर्ने अस्पताल भरिएका छन् । बेड अभावका कारण लक्षणसहितका बिरामी घरमै बस्न बाध्य भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।
प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या ८ हजार ८५७ पुगेकाे छ । पछिल्लो केही दिनयता दैनिक तीन सयभन्दा बढी संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण प्रदेश १ मा मात्रै ८९ जनाको मृत्यु भइसकेको छ । संक्रमणका कारण विराटनगरमा मात्रै २७ जनाको मृत्यु भएको छ । विराटनगरमा संक्रमितको संख्या तीन हजार नाघेकाे छ ।
महिना दिन बित्यो तर थपिएन आइसोलेसन
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एक महिनाअघि प्रदेश सरकारले एक हजार बेडको आइसोलेसन थप गर्ने निर्णय गरेको थियो ।
१८ भदौमा प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को भर्चुअल बैठकले विराटनगरमा एक हजार बेडसहितको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो । तर निर्णय भएको एक महिना बितिसक्दा पनि आइसोलेसन थप गर्ने प्रक्रिया अघि बढेको छैन । आइसोलेसन नहुँदा लक्षण देखिएका संक्रमितले उपचार पाउनै समस्या छ ।
प्रदेशस्तरीय सीसीएमसी बैठकले आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिएको थियो । तर मन्त्रालयले पछिल्लो समय एक हजार बेडको आइसोलेसन थप नगर्ने बताएको छ ।
मन्त्री भन्छन् : ‘एक हजार बेड चाहिँदैन’
प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले एक हजार बेड थप गर्ने निर्णय गरे पनि अब विराटनगरमा एक हजार आइसोलेसन बेड आवश्यक नभएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउँछन् ।
अन्य स्थानीय सरकारले आफैं आइसोलेसन बनाएको र संक्रमितहरु होम आइसोलेसनमा बस्न थालेका कारण एक हजार बेड आवश्यक नपर्ने मन्त्री घिमिरेले बताए ।
‘आइसोलेसन विकेन्द्रित भएका छन्, पालिकाहरुले आफैं आइसोलेसन सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘केन्द्रिकृत हुँदा एक हजार बेड बनाउने निर्णय भएको थियो । तर अब विराटनगर र वरपरका क्षेत्रका लागि एक हजार बेड आवश्यक पर्दैन ।’
कोरोना संक्रमण दर तीव्ररुपमा फैलिरहेको प्रदेश १ मा लक्षणसहितका बिरामी थपिने क्रम बढ्दो छ । तर भएका अस्पतालमा बेड अभाव छ । मन्त्री घिमिरे भने, ‘जोखिम बढेकाले आइसोलेसन विस्तारका लागि सरकारले विज्ञसँग छलफल गरिरहेको बताए ।’
अस्पताल भरिए, अक्सिजनको व्यवस्था गरिदेऊ
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अक्सिजन अभावका कारण लक्षणसहितका संक्रमितको उपचारमा समस्या भइरहेको बताउँछन् ।
प्रदेश र संघीय सरकारले संक्रमितलाई आवश्यक परेको अवस्थामा तुरुन्तै उपलब्ध हुने गरी अक्सिजनको व्यवस्थापन गर्नु पर्ने उनले बताए ।
‘धेरै संक्रमितलाई अक्सिजन सपोर्ट चाहिन्छ,’ उनले भने, ‘अहिले अस्पतालमा बेड नहुँदा धेरै गाह्रो भएको छ, प्रदेश सरकारले तत्काल लक्षणसहितका बिरामीका लागि बेड थप गरिदियोस् ।’
पछिल्लो समय कोरोना संक्रमितलाई घरमै बस्न सहज भए पनि अक्सिजन व्यवस्थापन नहुँदा मृत्यु हुने अवस्था आएको उनले बताए ।
‘कुनै अस्पतालमा बेड खाली छैन, गाह्रो भयो भन्दै राति १२ बजे पनि संक्रमितको फोन आउँछ,’ उनले भने, ‘अवस्था गम्भीर बन्दैछ, कसरी हुन्छ अक्सिजन पाउने व्यवस्था संघ र प्रदेशले गरिदिनु पर्छ ।’ (काेशी अनलाइन)