उर्लाबारी, असाेज २२
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले सञ्चालन गरेको बहुप्राविधिक शिक्षालयका प्रशासन प्रमुख मुक्तिनाथ दाहाल आत्महत्या प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन् ।
शिक्षालयका लेखा तथा प्रशासन प्रमुख दाहाललाई आत्महत्या गर्न बाध्य बनाउनेलाई कारवाही माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् ।
सोमबार शिक्षलयमा दाहाल मृत भेटिएका थिए । घटनापछि आक्रोशित भएका स्थानीयले मंगलबार प्रतिष्ठानका अध्यक्ष गुरु बरालमाथि हातपात गरेका थिए ।
प्रतिष्ठानद्धारा सञ्चालित शैक्षिक कार्यक्रमका विद्यार्थीले बिहीबार प्रतिष्ठानको मुख्यालय परिसरमा प्रतिष्ठानका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध नारा लगाउँदै आत्महत्याको निष्पक्ष छानबिनको माग गरे ।
प्लेकार्डसहित आन्दोलनमा उत्रिएका विद्यार्थीले शैक्षिक माफिया मूर्दावाद, पीडीत परिवारलाई न्याय देऊ, तानाशाही प्रशासन बन्द गर भन्दै नाराबाजी गरेका थिए ।
आन्दोलित विद्यार्थीहरूले धर्नापश्चात मृतक कर्मचारीको घरमा पुगेर न्याय नपाएसम्म आन्दोलन निरन्तर गर्ने बताएका थिए ।
शिक्षालयको लेखा तथा प्रशासन शाखाका प्रमुख दाहालको शव सोमबार शिक्षालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
प्रतिष्ठान प्रशासनले कर्मचारीको निधनका कारण जनाउँदै २४ असोजसम्म सबै सेवा बन्द गरेको छ ।