काठमाण्डौ ।
नेपालका सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिनको लागि वर्ल्ड लिङ्क र फेसबुकबीच साझेदारी भएको छ ।
नेपालभरका ७५ सय सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवाको लागि फेसबुकले वर्ल्ड लिङ्कलाई पूर्वाधार र प्रविधि उपलब्ध गराउने भएको छ ।
अहिले पनि वर्ल्ड लिङ्कले देशभरका १० हजार ठाउँमा वाईफाई सेवा दिइरहेको छ । अब सात हजार पाँच सय ठाउँमा फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको वर्ल्ड लिङ्कले जनाएको छ ।
बिहीबार भएको भिडिओ कन्फ्रेन्समार्फत दुवै कम्पनीले एक्सप्रेस वाईफाईको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
नेपालमा इन्टरनेटको माग उच्च भइरहेको बेला सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिँदा लाखौँ नागरिक लाभान्वित हुने सिंहको भनाइ छ ।
कार्यक्रममा वर्ल्ड लिङ्कका अध्यक्ष दिलीप अग्रवालले फेसबुकले वर्ल्ड लिङ्क सँग जोडिएर सेवा दिनु खुसीको कुरा भएको बताए ।