होम आइसोलेसनमै विराटनगरका संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

विराटनगर, असाेज २२
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर ५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

विराटनगर ५ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हाे । बृद्धमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । १९ गते उनको रिपोर्ट पोजेटिभ आएपनि घरमै राखिएको थियो ।

बुधबार रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएकोमा अस्पताल लैजान नपाई उनको मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।सोमबार बिराटनगर महानगरपालिका–११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेका ८८ वर्षीय वृद्धको सोमबार राति ११ बजे घरमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार उनको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।