विराटनगर, असाेज १७
नोबेल मेडिकल कलेजले आईसीयूमा उपचाररत कोरोना संक्रमितलाई मध्यरातमा निकालेको छ ।
विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादव बुधबारयता नोबेलको आईसीयूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले राति करिब ८ बजे बिरामीलाई निकालेको हो ।
जबकी उपचाररत बिरामीलाई कोरोना पुष्टि भए त्यही उपचार गर्नुपर्ने सरकारको निर्णय छ । अन्यत्र रिफर गर्नुपर्ने हब अस्पतालसँग समन्वय गर्नुपर्ने हुन्छ ।
तर नोबेलले आफन्तलाई दबाव दिएर आईसीयूमा उपचाररत संक्रमितलाई मध्यरातमा निकालेको छ । ‘कोरोना पोजेटिभ देखिएपछि अन्यन्त्र लैजानू भन्दै दबाब दिइरहे’ यादवका छोरा गांगाले भने, ‘राति ८ बजे टेम्पोमा राखेर नोबेलबाट निकाल्यौं ।’
नोबेलले निकालेपछि गम्भिर अवस्थाका बाबुलाई अस्पताल भर्ना गर्न ठूलै संघर्ष गर्नुपरेको उनले बताए । उनले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गर्न खोजेको थिए । तर कोशीले बेड खाली छैन भनेपछि न्यूरो अस्पताल पुगे ।
न्यूरोमा पनि बेड खाली छैन भनेपछि विमानस्थल मोडमा रहेको होटल एसियाटिकको आइसोलेसनमा लगे । होटलले लक्षण देखिएको विरामीलाई अस्पताल लैजान भन्दै पठायो । ‘होटलले पनि भर्ना गर्न नमानेपछि ठूलाबडालाई फोन गरेँ’ उनले भने ‘राति साढे ९ बजे बल्ल बल्ल न्यूरो अस्पतालमा भर्ना गर्यौं ।’ न्यूरो अस्पतालको कोभिड-१९ उपचार केन्द्रको आईसीयूमा वृद्धको उपचार भइरहेको छ ।
नोबेल मेडिकल कलेजले यसरी विरामी निकालेको यो पहिलो घटना भने होइन । शुक्रबार मात्र नोबेलको दबावका कारण अन्यत्र लैजाने क्रममा एक संक्रमितको मृत्यु भएको थियो ।
सुकिपुर नगरपालिका-२, सिरहाका ५५ वर्षीय पुरुषको सोमबारदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । पीसीआर परीक्षण गराउँदा बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोबेलले विरामी लैजान दबाव दिएको थियो ।
आफन्तले विराट मेडिकल कलेजको आइसोलेसन सेन्टरमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भयो ।
के भन्छ नोबेल ?
यसैबीच नोबेलले भने संक्रमित विरामीलाई बलपूर्वकलाई अस्पतालबाट ननिकालेको दाबी गरेको छ । आफन्तको आग्रह र चिकित्सकको
सल्लाहअनुसार अन्यन्त्र जान दिइएको प्रबन्धक नारायण दाहालले बताए । ‘हामीले संक्रमितलाई निकोलका छैनौं’ उनले भने, ‘कोरोना संक्रमितको उपचारका लागि हामीसँग छुट्टै आइसोलेसन छ । उहाँका आफन्तले धरान लाने भनेपछि सल्लाहमै जान दिएका हौं ।’ (अनलाइन खबरबाट)