बन्दुक पड्काएर रकम असुल्ने समूह जेल चलान

सेयर गर्नुहोस्

विराटनगर, असाेज १६
विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रुपैयाँ असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायको समूह तथा उनलाई हतियार बिक्री गर्ने विद्यार्थी नेता अभिषेक महतोसहित ६ जना अभियुक्तहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजालाशले बिहीबार उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

विराटनगरमा संगठित रूपमा अपराधको सञ्जाल विस्तार गरेका अभियुक्तहरू विरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै चार वटा मुद्दा दर्ता गरेको थियो । बिहीबार भएको थुनछेक बहसपछि गिरोहका मुख्य नाईके मोरङ कटहरी गाउँपालिका २ का २६ वर्षीय अभिषेक राय, २६ वर्षीय नन्दु भन्ने चन्दकिशोर साह, भारत सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षीय राजु साह, कटहरी २ का २७ वर्षीय एलेक्स भन्ने रबिन शर्मा, विराटनगर १२ का २६ वर्षीय विकास महतो पुर्पक्षको लागि कारागार चलान भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरू विरूद्ध डाँका, हातहतियार खरखजना, अपराधिक लाभ लिन खोजिएको उद्योग र अपराधिक लाभ लिएको मुद्दा अदालतमा दर्ता भएको थियो । विद्यार्थी नेता महतो विरुद्ध अदालतमा ‘हातहतियार खरखजना’, अपराधिक लाभ लिन खोजेको तथा अपारधिक लाभ लिएको मुद्दा दर्ता भएको थियो । महतो अपराधिक लाभ लिन खोजेको मुद्दामा साधरण तारेखमा रिहा भएपनि हातहतियार खरखजना मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

पक्राउ परेका अन्य पाँच जना प्रतिवादीहरूलाई अदालतले अपराधिक लाभ लिन खोजेको उद्योगमा जनही २५÷२५ हजार रुपैयाँ धरौटी तोकेको छ । त्यसबाहेक अन्य मुद्दामा महतोबाहेक ५ जना प्रतिवादहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गिरोहलाई पेस्तोल बिक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी महतोले ३५ हजार रुपैयाँ मुनाफा राखी १ लाख रूपैमाँ पेस्तोल विक्री गरेको खुलेको छ । उनले ६५ हजारमा भारतको फारबिजगन्जमा पेस्तोल खरिद गरेर १ लाखमा बिक्री गरेका थिए ।

विराटनगर १२ घर भएका २६ वर्षीय महतो अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पुसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् । नेपाल टेलिकमको टावर बनाउन ठेक्काको काम गर्दै आएका महतो पक्राउ परेपछि उनको अपराधिक कर्तुत बाहिर आएको हो ।