विराटनगर, असाेज १५
कोरोना संक्रमणका कारण विराट मेडिकल कलेजमा ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका साढे ४ बजे जनकपुर उपमहानगरपालिका–२ धनुषाका ६ वर्षीय बालकको मृत्यु भएको हो ।
बालकमा ८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ९ असोजमा उनलाई विराट मेडिकल कलेज बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा भर्ना गरिएको थियो ।
भेन्टिलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार मृत्यु भएको कलेजका आइसोलेशन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।
उपचार खर्च छुट
अत्याधिक ज्वरोका कारण उनी असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा भर्ना गरिएको थियो ।
मेनेन्जाइटिस भएर आएका बालकलाई विराटनगर अस्पतालमा तीन दिन राखेर उपचार गर्दा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेजको आइसोलेशनमा रेफर गरिएको थियो ।
उपचारका क्रममा आइसोलेशन चार्जबाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेको थियो । तर आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा लागेको सबै खर्च मिनाहा गरिएको आइसोलेशन इञ्चार्ज देवले जानकारी दिए ।
आइसोलेशनको शुल्क लाग्दैन, औषधि र भेण्टिलेटरमा राख्दा झण्डै तीन लाख रुपैयाँ बिल उठेको थियो,’ देवले भने, ‘बालकको परिवारको अवस्था दयनीय थियो । अस्पतालले सबै खर्च मिनाहा गरिदिएको छ ।’