विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

सेयर गर्नुहोस्
  • 43
    Shares

विराटनगर, असाेज १५
मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ ।

जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

विद्यालयहरूले विभिन्न माध्यमबाट विस्तारै अध्ययन अध्यापन कार्य सुरू गर्न लागेको भन्दै शैक्षिक संस्थामा सञ्चालित क्वारेन्टाइनलाई हटाएर डिस्इन्फेक्सन गर्न भनिएको छ । समितिले विद्यालय संचालनका लागि तयार गर्न सबै स्थानीय तहलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

बैठकले विराटनगर महानगरपालिका–१३ स्थित डीएभी स्कुल र विराटनगर ७ स्थित आदर्श माध्यमिक विद्यालयमा रहेको होल्डिङ एरियालाई पनि हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो । दुबै होल्डिङ एरियालाई हटाएर उपयुक्त होटलमा सार्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

बैठकले कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रलाई अझ प्रभावकारी बनाउन, दशैं तिहार छठ पर्वजस्ता मुख्य चाडपर्वमा हुने नियमित पूजापाठ बाहेक भिडभाड, उत्सव, भजनकिर्तनलगायतका कार्य नगर्न र त्यसो गरेको पाइएमा रोक्न पनि निर्देशन दिएको छ ।

बैठकले तत्काल भौतिक रुपमा विद्यार्थी सहभागी गराएर परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै परीक्षाको कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको छ ।