अनलाइन कक्षाकाे शुल्ककाे बिराेधमा धरानमा अभिभावककाे प्रदर्शन

सेयर गर्नुहोस्
  • 265
    Shares

धरान, असाेज १३
निजी विद्यालयहरुमा अनलाइन कक्षाको शुल्कबारे जारी छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गर्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा दबाब दिएका छन् ।

आज धरानका विभिन्न विद्यालयका अभिभावकहरुले प्ले कार्डसहित गएर उपमहानगरपालिकालाई दबाब दिएका हुन् । उनीहरुले शुल्क निर्धारणबारे निर्णय गर्न ढिलाई गरेको प्रति उपमहानगरपालिकासँग चर्को असन्तुष्टी प्रकट गरेका छन् । साथै, शुल्कबारे निर्णय हुन बाँकी नै रहदा पनि निजी विद्यालय सञ्चालकहरुले भर्ना गर्न र शुल्क तिर्न दबाब दिइरहेकोप्रति पुनः अभिभावकहरुले उपमहानगरपालिकाको पनि ध्यानाकर्षण गराएका छन् ।
प्ले कार्डसहित पुगेका अभिभावकहरुले शिक्षा महाशाखा प्रमुख रत्न कटवाल र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई पनि भेट गरेका थिए ।

उनीहरुले शिक्षा शुल्कबारे विद्यालय सञ्चालन र शिक्षकहरुसहितको छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गरेका छन् । ‘हाम्रो मुख्य माग भनेको शुल्कबारे निर्णय गर्न किन ढिलाई भइरहेको छ भन्ने हो । निर्णय नै नहुदा पनि स्कुलले भर्ना गर्नु भनिरहेको छ, के यो जायज हो ?’एक अभिभावक विकास भाटीले भने ।

अभिभावकहरुले स्कुल बन्द अवस्थामा रहेकोले विगतमा जस्तो बार्षिक शुल्कको नाममा लिदै आएको भर्ना शुल्क लिन नमिल्ने बताउदै आएका छन् । पठनपाठन सुचारु हुदा मात्र विभिन्न क्रियाकलापहरु हुने र बार्षिक शुल्क लिन पाउने भन्दै अभिभावकहरुले स्कुल नै नलागेको समयमा भर्ना शुल्क लिन नमिल्ने अडान राख्दै आएका छन् । तर, विद्यालय सञ्चालकहरुले भने अभिभावकहरुलाई भर्ना गर्न दबाब दिइरहेका छन् । ‘शुल्कबारे छलफल भइरहेको छ, त्यो छलफलमा हामी अभिभावकहरुको पनि प्रतिनिधित्व हुनपर्छ भनेर माग गरेका छौं,’भाटीले भने,‘उपमेयर ज्युले तपाईहरुको माग जायज छ, अनावश्यक शुल्कबारे छलफल गछौं भन्नु भयो । छलफलमा पनि प्रतिनिधिमुलक सहभागी गराउने भनेर नाम माग्नु भएको छ ।’

सरकारले असोज २७ गतेदेखि मात्र वैकल्पिक सिकाई तथा पठनपाठन शुरु गर्ने भनेपनि कतिपय विद्यालयहरुले बैशाखदेखि नै अनलाइन कक्षा चलाएका छन् । ती विद्यालयहरुले बैशाखदेखि नै मासिक शुल्क तिर्न र भर्ना गर्न दबाब दिइरहेका छन् । तर, शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाले वैकल्पिक सिकाई पठनपाठन शुरु गर्ने र शुल्कबारे स्थानीय तहले निर्णय गर्ने भनेको छ । स्थानीय तहहरुले निर्णय नगरी नै विद्यालयहरुले भने विगतमा जस्तै भर्ना र मासिक शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिइरहेका छन् । कोरोना महामारीले सबैलाई मारमा परेकोले विगतमा जस्तो भर्ना र पुर्णरुपमा शुल्क तिर्न नसक्ने भन्दै अभिभावकहरुले उपमहानगरपालिकालाई यसअघि नै ज्ञापन पत्र पनि बुझाई सकेका छन् । 

अभिभावकहरुले गठन गरे १३ सदस्यीय समिति

अभिभावकहरुलाई मार पर्ने गरि शुल्क लिन नहुने भन्दै निरन्तर दबाब दिइरहेका धरानका विभिन्न विद्यालयका अभिभावकहरु संगठित हुने क्रममा १३ सदस्यीय समिति गठन गरेका छन् । समितिको नाम धरान विद्यालय अभिभावक परिवार राखिएको छ ।

उनीहरुले आज मंगलबार उपमहानगरापालिकामा शुल्कबारे प्रर्दशन गर्दै समिति पनि गठन गरेका हुन् । समितिको संयोजक भने तोकिएको छैन । समितिमा अमृत मानन्धर, सुर्य भण्डारी, अनिता राई, विनोद तिम्सिना, सुवर्ण श्रेष्ठ, विकास भाटी, गृष्म न्यौपाने, मदन राई, घिसिङ जयदेव, सुनिल श्रेष्ठ र शुशिला राई रहेका छन् । यो समितिले विद्यालय सञ्चालकहरुसँग शुल्कबारेको बैठकमा को को प्रतिनिधित्व गर्ने भनेर निर्णय गर्ने सदस्य भाटीले जानकारी दिए ।