गौरादह हत्याकाण्डः हथौडा प्रहार गरि हत्या, परिवारका सदस्य निगरानीमा

सेयर गर्नुहोस्

झापा, असोज १३
झापाको गौरादहमा बृद्धाको बिभत्स हत्यासँगै प्रहरीले अनुसन्धान थालेको छ । गौरादह १ शिवालय मन्दिर नजिकै बस्ने ६५ बर्षीय मनमाया भण्डारीलाई हथौडाले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बृद्धाको निधार र टाउकोमा चोट देखिएको छ । हथौडाले उनको टाउकोमा हानेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । भण्डारीको शव घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अबस्थामा हिजो बेलुका फेला परेको थियो । हात बाँधेर हत्या गरेको र त्यसपछि लाश खाटमुनि लुकाएको हुनसक्ने अनुमान प्रहरीकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले आइतबार बेलुका धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएपनि सफलता हात नलागेको बताए ।
घरमा एक्लै रहेको अवस्थामा बृद्धाको हत्या भएको मृतकका देवर खगेन्द्र भण्डारीले जानकारी दिए । घटना भएको दिन हिजो बिहान साढे ११ बजेतिर मात्र मृतक र उनका श्रीमान् भीम भण्डारी गौरादहस्थित घरमा आइपुगेका थिए । भण्डारी दम्पतीको पुरानो घर कमल गाउँपालिका १ ढ्याङग्री मा रहेको छ । उनीहरु नातिनातिना पढाउनका लागि ५ वर्ष अघिदेखि गौरादहमा घर किनेर बसोबास गर्दै आएका थिए । कोरोनाका कारण विद्यालय बन्द भएपछि करिब ३ महिनादेखि उनीहरु ढ्याङग्रीस्थित घरमा बस्दै आएका थिए ।
घटनापछि प्रहरीले मृतकका श्रीमान् , उनका देवरलगायत परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ । लाशलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् ।
मृतक महिलाको हत्याराको खोजी कार्यका लागि नेपाल प्रहरीले तालिम प्राप्त कुकुर लैला ल्याइएको थियो । अनुसन्धानको क्रममा कुकुरले मृतकको शव रहेको घरदेखि ३ किलोमिटर पूर्व स्थानीय सिस्ने खोलाको पुल सम्म पुगेर केही समय कुकुर अल्मलिएको थियो ।
यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडी रहेको धान बारीमा कृषि विकास बैंकको चेक समेत भेटाएको छ भने, बाथरुममा १० रुपैयाँको को नोट फेला पारेको थियो ।
मृतक महिलाको श्रीमान, २ छोरा र १ छोरी रहेका छन् ।