उर्लाबारीकाे हाेटलमा झगडा, एककाे मृत्यु

सेयर गर्नुहोस्
  • 3
    Shares

उर्लाबारी, असाेज १३
मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित युनिक होटलमा झगडा हुँदा एक पुरुषको मृत्यु भएको छ । असोज ११ गते राती साढे ११ बजेको समयमा मादक पदार्थ सेवन गरी होटलमा झगडा हुँदा भारत घर भई उर्लाबारी ७ मा परिवारसहित डेरा गरी बस्दै आएका ३५ वर्षिय सुशिल मल्लिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारी क्षेत्रमै बसोबास गर्दै आएका थिए ।

उनी सुनका गहना बनाउने कालीगढ हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका मल्लिक श्रीमती कञ्चनसहित युनिक होटलमा आइतबारराति ११ः३० बजेतिर पुगेका थिए । होटलमा विवाद गर्दै सेवनका लागि मदिरा माग्न थालेपछि होटल संचालक २६ वर्षिय गोपाल तामाङसँग झगडा परेको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि तामाङले धकेलेर लडाइदिँदा मल्लिक बेहोस भएका थिए । ठोक्किएर टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगियो ।

बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको प्रहरीले जनाएको छ । मल्लिकको उपचारका क्रममा सोमबार राति सिलिगुडीमै मृत्यु भएको जिप्रका मोरङका एसपी सन्तोष खड्काले जनाए । उनको शव नेपाल ल्याउन प्रहरीले पहल गरिरहेको छ । तामाङलाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भईरहेको जनाईएको छ ।