विराटनगर, असाेज १३
चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको सिद्धार्थ बैंकको विराटनगर शाखा कार्यालय कुनै साबधानी र सतर्कताविना सञ्चालन भइरहेको पाइएको छ ।
एक साताअघि बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएपनि बैंकले पूर्ण सेनिटाइजसमेत नगरी सञ्चालन हुँदा संक्रमण फैलने जोखिम बढेको छ ।
संक्रमण देखिएपछि बैंकमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरि कार्यालय सेनिटाइज गर्नुपर्ने हो । विराटनगरको मेनरोडमा रहेको सिद्धार्थ बैंकले भने कुनै साबधानी अपनाएको छैन ।
कोरोना संक्रमित भेटिएको कुनैपनि स्थानलाई तत्कालै शिल गरेर मानिसको आवतजावतलाई रोक्दै सेनिटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै केही समयका लागि सुरक्षित राख्नुपर्नेमा बैंकमा कुनै काम भएको छैन । बैंकले सेवा सञ्चालन गरेपछि सेवाग्राहीको भीडभाड छ ।
‘अरुमा संक्रमण फैलन नदिन ‘डिसइन्फेक्ट’ गर्नलाई शिल गर्दै बैंकभित्र बाहिरी मानिसको आवतजवात रोक्नुपर्ने हो’ एक कर्मचारीले भने, ‘तर अहिले पनि निर्वाध रुपमा सञ्चालन भइरहेका कारण संक्रमण थप फैलनसक्ने जोखिम बढेको छ ।’
विराटनगर महानगरपालिका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले सुरक्षा सावधानी अपनाएर बैंक सञ्चालन नगरिएको भए अनुगमन गरिने बताए । बैंक सुरक्षित बनाउने विषयमा छलफल भइरहेको उनले बताए । ‘संक्रमित भेटिएपछि बैंक तत्कालै शिल गरि सेनिटाइज गरिनुपर्ने हो’ उनले भने, ‘तर अहिलेसम्म नगरेको जानकारी पाइयो । यस विषयमा बुझेर थप कदम चाल्नेछौं ।’