झापा, असाेज १२
जिल्ला कारागार झापाको छतमा आइसोलेसन कक्ष निर्माण थालिएको छ । सात कैदीबन्दीसहित १० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले कारागारको छतमा आइसोलेसन कक्ष बनाउन शुरु गरेको हो ।
प्रदेश सरकारसँग समन्वय गर्दै दुई वटा आइसोलेसन वार्ड बनाउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ३६ लाख रुपैयाँको लागतमा कारागारको छतलाई व्यस्थापन गर्दै आइसोलेसन कक्ष निर्माण थालिएको हो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये असोज ५ गते १७ जनाको पीसीआर परीक्षण गराउँदा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि असोज ५ गते कारागारका एक जना कैदीलाई संक्रमण देखिएको थियो । उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ । ३५० कैदीबन्दी राख्न सक्ने क्षमता भएको कारागारमा ५ बालबालिका, ८२ महिलासहित ११४३ जना कैदीबन्दी राखिएको छ ।