कक्षा ११ काे परिक्षा स्थगित गर्न माग गर्दै विद्यार्थी आन्दोलित

सेयर गर्नुहोस्

 विराटनगर, असाेज १२
समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा चाडपर्वको मुखमा कक्षा ११ को परीक्षा लिने तयारी भएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।

महामारी तीव्र गतिमा फैलिएको विराटनगरमा निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा महानगरपालिकाले परीक्षा लिने तयारी गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

मुलुकमा अन्यत्र परीक्षाको तयारी नभएपनि विराटनगरमा परीक्षा लिन लागेको भन्दै विद्यार्थीले सोमबार महानगरपालिका अगाडि धर्ना दिएका छन् । उनीहरुले महामारीको बेला जबरजस्ती शुल्क असुल्न र कोरोना संक्रमण फैलाउने जोखिम बढाउनेगरी तयारी गरिएको परीक्षा खारेज गर्न पनि माग गरेका छन् । शिक्षा मन्त्रालयले माघ महिनासम्ममा परीक्षा लिन निर्देशन दिएको भएपनि अहिले नै परीक्षा लिनुपर्ने कारणबारे महानगरले कुनै स्पष्ट जानकारी दिएको छैन ।

शिक्षा मन्त्रालयले तत्काल विद्यालय नखोल्न दिएको निर्देशन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाभित्र कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक भएको छ । कोरोना महामारीका कारण समस्यामा रहेका विद्यार्थीबाट जबरजस्ती शुल्क असुल्ने प्रयोजनको लागि मात्र परीक्षा लिन लागिएको विद्यार्थीहरुको आरोप छ ।

‘दसैंको मुखमा महानगरले परीक्षा सञ्चालन गर्ने सूचना निकालेको रहेछ,’ विद्यार्थी संरक्षण देवकोटाले भने, ‘फिस तिर्नुहोस् भनेर दबाब दिँदा तनाब हुन्छ, एक हजारभन्दा बढीको भिडमा बस्दा घर–घरमा कोरोना पुग्ने जोखिम हुन्छ ।’ विद्यार्थीले महामारीपछि परीक्षा लिन आग्रह गरेका छन् । महामारीकै बेला परीक्षा सञ्चालन गर्ने भए अनलाइन पद्दतिबाट सञ्चालन गर्नुपर्ने विद्यार्थीको भनाइ छ ।

अहिलेकै अवस्थामा परीक्षा भए कोरोनाको जोखिम बढ्ने विद्यार्थीहरुको भनाइ छ । विराटनगरमा हरेक दिन सय जना हाराहारीमा कोरोना देखिएको बेला परीक्षा लिने तयारी आत्मघाती भएको विद्यार्थीले बताएका छन् । विराटनगरबाहेक अन्य स्थानीय तहले परीक्षा सञ्चालनको कुनै तयारी नगरेपनि निजी विद्यालय सञ्चालक महानगर प्रमुख रहेकोले शुल्क असुल्न मात्र परीक्षाको तयारी गरिएको विद्यार्थी तथा अभिभावकको गुनासो छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । त्यहीअनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो । विराटनगर महानगरपालिकाकोशिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले भने महानगरले परीक्षाको समन्वय मात्र गरेको बताउँदै परीक्षाकै कारण कोरोना सर्छ भन्ने कुरा गलत भएको बताए ।

विराटनगरमा प्रदेश १ र प्रदेश २ का करिब ८ हजार विद्यार्थी कक्षा ११ मा पढ्छन् । विराटनगर बाहिर घर भएका विद्यार्थीहरुले कोरोना महामारीको कारण घरमै सुरक्षित बसिरहेको बेला परीक्षाको लागि विराटनगर आउन संभव नरहेको बताएका छन् । ‘यो बेला विराटनगरमा गएर परीक्षा दिँदा कोरोना स¥यो र तलमाथि भयो भने त्यसको कसले जिम्मा लिन्छ ?’ सिराहा घर भएका विद्यार्थी अजय साहले भने, ‘चाडपर्वको मुखमा परिवारलाई नै जोखिममा पार्ने प्रयास भइरहेको छ ।’