झापाको कनकाईका ४७ वर्षीय संक्रमित पुरुषकाे मृत्यु

सेयर गर्नुहोस्
  • 17
    Shares

विराटगनर । थप उपचारका लागि ल्याइएका एक जना कोरोना भाइरस संक्रमित पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा शनिबार राति मृत्यु भएको छ ।

झापाको कनकाई-९ का ४७ वर्षीय पुरुषको कोभिड अस्पताल ल्याइपुर्याउन साथ राति १०ः४५ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

झापामा उपचाररत रहँदा अवस्था गम्भीर बन्दै गएपछि शनिबार राति थप उपचारका लागि विराटनगर ल्याइएको बस्नेतको भनाइ छ । तर, उपचारका लागि आइसोलेसनमा लैजानलाई बोकेर आएको एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भएको चिकित्सकलाई उद्रित गर्दै उनले बताए ।

‘स्वास्थ्य अवस्था नाजुक भएर उपचारका लागि विराटनगर ल्याइएको रहेछ,’ उनले भने, ‘तर उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गर्न नपाइकन एम्बुलेन्सबाट झार्दाझार्दै मृत्यु भयो ।’

उपचारका लागि ल्याउन ढिला भएका कारण संक्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । बस्नेतले शवको व्यवस्थापन नियम अनुसार हुने उनले जानकारी दिए ।