झापा, असाेज ८
कोरोना संक्रमणबाट झापामा थप एकजनाको मृत्यु भएको छ। झापा गाउँपालिका–६ का ७७ वर्षीय वृद्धको मृत्यु भएको हो। मृतक बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए।
उनकाे शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ। उनलाई सामान्य ज्वरो,रुघाखोकीको लक्षण देखिएको थियो ।
गाउँपालिकाले तीनदिन अघि सो क्षेत्रका ३२ जनाको स्वाब परीक्षण गरिएको थियो। उनमा लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्या थियो। गएराति उनको निधन भए पनि रिपोर्ट अहिले आएको हो ।
बृद्धको मृत्यु भएपछि झापा गाउँपालिकाको ६ नम्बर वडा सिल गरिएको छ। सो वडा तीनदिनका लागि सिल गरिएको वडाध्यक्ष हरिबहादुर बानीयाँले बताए। वडाको पूर्वमा बिरिङ खोला, पश्चिममा सानो माइखोला, उत्तरमा कनकाई नगरपालिकाको सीमाना र दक्षिणमा फूलगाछीचोकसम्मको क्षेत्रलाई चारकिल्ला कायम गरेर सिल गरिएको हो। झापामा ८२१ जनामा संक्रमण देखिएकाे छ भने अहिले ५९ जना मात्रै संक्रय संक्रमित छन । झापामा काेराेनाका कारण ६ जनाकाे मृत्यु भइसकेकाे छ ।