युवतीलाई ‘बली’ दिन भारत लैजानेहरु पक्राउ

सेयर गर्नुहोस्

विराटनगर, असाेज ६
विभिन्न प्रलोभनमा पारेर एक जना किशोरीलाई भारत लैजाने गिरोहका मुख्य नाइकेसहित तीन जना पक्राउ गरेका छन् । सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीय किशोरीलाई भारत लैजान खोज्नेलाई प्रहरी र साना हातहरु नामक संस्थाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको लेटाङ्ग नगरपालिका ३ घर भइ हाल रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीय मनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाढी कौलारी गाउँपालिका १ का २० वर्षीय प्रदिपकुमार मण्डल छन् ।

उनीहरूलाई विराटनर १७ नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट आइतबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये गिरोहका मुख्य नाईक सुमित रहेको खुलेको छ । पक्राउ परेका तीनै जनालाई मंगलबार मोरङ अदालतमा ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

‘किशोरीलाई उद्धार गरेका छौं,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘प्रलोभनमा पारी भारत बिक्री गर्न लैजान खोजिएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ । अहिले हामी अनुसन्धानको क्रममा छौं । थप विषय पछि खुल्नेछ ।’

किशोरीलाई बली दिन लगिएको आशंका
उद्धार गरेको किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएको छ । ती किशोरीलाई भारत पु¥याएबापत १२ लाख रुपैयाँ पाउने पक्राउ परेका गिरोहका मुख्य नाईके सुमितले बयानको क्रममा बताएको साना हातहरू नेपाल मोरङ संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । ‘किशोरीलाई पूजाको लागि भनेर बलाउनु । उचाइ नाप्नु, महिनावरी भए नभएको सोधिखोजी गर्नु, शरिरमा कुनै दाग नभएको हुनुपर्ने र विराटनगरमा पूजा छ भनेर बोलाएर भारतर्फ लैजानुलाई बलिको लागि लगेको हुनसक्ने देखिन्छ,’ उहाँले भन्नुभयोे, ‘यसमा प्रहरीले अनुसन्धान गहन गरे धेरै विषय खुल्नेछ ।’

मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने बलि नै दिने वा अरु केही गतिविधिमा लगाउने गरि लगेको भन्ने विषय खुलिनसकेको बताउनुभयो । ‘हामी अनुसन्धानको क्रममा छौं,’ उहाँले भन्नुभयोे, ‘सबै कोणबाट शुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । थप बिषय पछि खुल्नेछ ।’

सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार किशोरी लगिदिए वापत १२ लाख रुपैयाँ भिनाजु र उनका भाइले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो । त्यो पैसा ३ जनाले ४÷४ लाख लिने सहमति गरेका थिए ।

किशोरीको हाइट नाप्न इन्ची टेप खरिद
किशोरीलाई भारतसम्म पु¥याउने योजना पक्राउ परेका सुमितले मोनिकाको सहयोगमा बनाएको अनुसन्धानबाट खुलको छ । सुमित र मोनिकाको २ वर्ष अगाडि फेशबुकमार्फत चिनजान भएको थियो । मनिका ती किशोरीको घर नजिक तरकारी पसल सञ्चालन गर्दै आएकी थिइन् । उनी अबिवाहित छिन् ।

प्रहरीका अनुसार कक्षा १० मा अध्ययन गर्ने किशोरीको घरमा मनिकाको आउजाउ रहेको थियो । उनले किशोरीको आमा र बावुलाई मामा माइजुली भनेर सम्बोधन गर्थिन् । मोनिकाले ती किशोरीलाई विराटनगरमा पूजा रहेको र पूजामा एक जना कन्या खोजिएकोले जान भनेकी थिइन् । पूजामा टिका लगाएर दक्षिणा ५ हजार रुपैयाँसहित नयाँ मोवाइल दिने भनेपछि मोनिका उनीसँग आएको खुलेको छ ।

मोनिकाले किशोरी तयार भएको सुनाएपछि सुमितले उचाइ ५ फुटभन्दा माथि र शरिरमा कुनै दाग नभएको हुनुपर्ने बताएका थिए । त्यसपछि मोनिकाले किशोरीको हाइट नाप्ने योजना बनाएर असोज १ गते उनलाई झुम्का बजार लिएर गएकी थिइन् । त्यहाँको एक हार्डवेयर पसलमा ९० रुपैयाँमा इन्ची टेप खरिद गरेर उनले किशोरीको हाइट नापेपछि ती किशारीलाई विराटनगर ल्याउने योजना बनेको थियो ।

इटहरी हुँदै विराटनगरबाट बोर्डर लगियो
मोनिका र किशोरी आइतबार बिहान सबेरै झुम्का बजारबाट अटो चढेर इटहरीतर्फ लागे । जहाँ उनीहरुलाई पर्खिरहेका थिए, सुमित र प्रदिप । सुमितको मोटरसाइकमा मोनिका बसिन् भने किशोरी प्रदिपको मोटरसाइकलमा । दुई वटा मोटरसाइकलमा बसेर उनीहरू विराटनगर आएका थिए । विराटनगरमा पूजामा भनेर ल्याएकोमा भारतर्फको सीमा पु¥याएपछि किशोरी डराएकी थिइन् ।

कहाँ लिएर गएको भनेर मोनिकालाई सोध्दा पारिसम्म जाने डराउनु पर्दैन भनेर सान्त पारिन् । कोरोनाले गर्दा अहिले सीमा नाकामा कडाइ भएकोले सुमितले मोनिका र ती किशोरीलाई इस्लामपुर अगाडि तस्करीको बाटो प्रयोग गर्दै भारततर्फ लिएर गएका थिए ।

युवती गाडीबाट झरेर भागेपछि
युवतीलाई पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने र कालो लुगाले छोप्दा डराउन नहुने भन्दै मनिकाले सम्झाएकी थिइन् । पूजामा आफूसँगै हुने बताएपछि पाँच हजार पाउने आशमा उनले सहमति जनाइन् । तर, विराटनगरबाट भारततर्फ पुगेको उनले पत्तो पाइनन् । बोर्डर कटाएपछि उनलाई एउटा गाडीमा हालेर लगिएको थियो । फारबिसगञ्ज पुुगेपछि मात्र उनले आफू बेचिन लागेको थाहा पाएकी थिइन् ।

‘विराटनगरमा पूजा भनेर ल्याएकोमा भारत प्रवेश गरेपछि म निकै डराएर रुन थाले र म चढेको गाढीकबाट हाम फालेर नेपालतर्फ आएँ’ उनले भनिन् । साना हातहरू र प्रहरीको सहयोगमा उनको उद्धार भयो । जोगवनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन् ।

‘मलाई भारत पु¥याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले भनिन्, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए ।’ त्यसक्रममा उनीहरु पक्राउ परेका हुन् । बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएपछि भागेको किशोरीले बताएकी छन् ।

प्रहरीका अनुसार सुमितका भिनाजु रन्द्धीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘नेपालबाट फारवेशगञ्ज पु¥याएपछि भिनाजु र उनका भाईको जिम्मा लगाउने तयारी रहेछ,’स्रोतले भन्यो, ‘तर, बीचैमा सम्पर्क टुट्दा नेपाली किशोरीलाई उनीहरुको जिम्मा लगाउन असफल भएको देखिन्छ ।’

प्रहरीका अनुसार किशोरीलाई लिएर जानेहरुसँग नेपाली नम्बरको मोबाइल मात्रै थियो । नेपाली सीमले जोगवनीबाट फारवेशगञ्जतर्फ लागेपछि काम गरेन । नेपालबाट जानेहरुसँग भारतीय नम्बरको सीम नभएका कारण उनीहरुबीच सम्पर्क टुटेको पाइएको छ । -हाम्राे मतबाट