झापा, असाेज ५
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना महामारी नियन्त्रणका नाममा भएको खर्च विवरण तीनदिनभित्र सार्वजनिक गर्न झापाका स्थानीय तहलाई अल्टिमेटम दिएको छ ।
विप्लव नेतृत्वको नेकपा-माओवादी झापाले आज विज्ञप्ति जारी गरी झापाका स्थानीय तहलाई तीन दिनभित्र खर्चको हिसाबकिताब सार्वजनिक गर्न अल्टिमेटम दिएको हो ।
कोरोना भाइरस नियन्त्रणका नाममा स्थानीय तहले चरम भ्रष्टाचार गरेको भन्दै माओवादीले त्यसविरुद्ध उत्रिने चेतावनी पनि दिएको छ ।
झापा जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति निकालेर झापाका निजी तथा सामुदायिक शैक्षिक संस्थाले शुल्क तिर्न अभिभावकलाई ताकेता गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब उक्त कार्य बन्द गर्न आग्रह गरेका छन् ।
निजी शिक्षण संस्थालाई सरकारी लुटेरा जनप्रतिनिधिहरुले साथ दिएर जनताको ढाडसेक्ने काम गर्न खोजिएको भन्दै विज्ञप्तीमा यसलाई अविलम्ब रोक्न चेतावनी दिइएको छ ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरुले मध्यमवर्गीय गुजारा मुखी व्यवसायीहरुलाई किस्ता तथा ब्याजको ताकेता गरेर समस्यामा पारेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ ।