सामाजिक सञ्जालको आम्दानी वैधानिक रुपमा नेपाल ल्याउन पाउने

सेयर गर्नुहोस्

काठमाण्डाै, असाेज २
सामाजिक सञ्जालमार्फत् आम्दानी हुने रकम बैंक तथा वित्तीय संस्थाहरु मार्फत् नेपाल ल्याउन पाइने भएको छ। सामाजिक सञ्जाल फेसबुक, युट्युब तथा अनलाइन साइटमार्फत् हुने आम्दानीलाई वैधानिक  रुपमा ल्याउन नेपाल राष्ट्र बैंकले बाटो खोलिदिएको हो । 

अनलाइन वित्तीय सेवामार्फत् विदेशबाट नेपाल आउने पैसालाई नेपालका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्थाहरुमार्फत् ल्याउन पाइने भएको हो।

यस प्रयोजनका लागि विशेषगरी सूचना प्रविधिसम्बद्ध दक्षता, विज्ञताको निकासी–बिक्रीवापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्री राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक व्यापारिक कारोबारवापत प्राप्त हुने रकमहरु मान्य हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

विदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने भएको छ। 

यसरी विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शूल्क, रोयल्टीलगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशन पालना गर्नुपर्ने हुन्छ। 

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन एवं प्रचलित अन्य ऐन कानुन तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्नेछ। सामाजिक सञ्जाल प्रयोगकर्ताले यसरी ल्याउने रकमको विवरण १५–१५ दिनमा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले नेपाल राष्ट्र बैंकमा जानकारी गराउनु पर्ने हुन्छ।