काेटीहाेममा पीसीआर ल्याबकाे उद्घाटन

सेयर गर्नुहोस्

 झापा, असाेज १
झापाको कनकाई नगरपालिकामा काेराेना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना भएको छ । एकका लागि एक अभियानको अग्रसरतामा परीक्षण प्रयोगशाला स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघ समेतको आर्थिक सहयोगमा स्थापना भएको प्रयोगशालाको बुधबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका छन् ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट स्थापित प्रयोगशाला प्रदेश सरकारअन्तर्गत मेची अस्पताल मातहतमा रहनेछ ।अभियानले केही दिनअघि अस्पताललाई प्रयोगशाला हस्तान्तरणबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरणका खरिद गरेर सञ्चालनको अवस्थामा पुर्याएर सरकारलाई जिम्मा लगाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । करिब एक करोड रुपैयाँको लागतमा अभियानले प्रयोगशाला निर्माण गरेको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै प्रदेश प्रमुख प्यासीले यसको दीर्घकालीन व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहले गम्भिरता देखाउनुपर्ने बताए ।

कोरोनाविरुद्धको अभियानमा लड्न प्रयोगशालाले मद्दत गर्ने भन्दै उनले हिजोका सानातिना सबै विवाद बिर्सिएर अघि बढ्नुपर्ने बताए । प्रमुख अतिथि प्यासीले अभियानको प्रशंसा गरेका थिए । सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको उनले बताए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रयोगशाला सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी लिन प्रदेश सरकार तयार रहेको बताए । कानुनमन्त्री कार्कीले जनस्तरबाट सुरु गरिएका कोरोनाविरुद्धको अभियानमा सबै राजनीतिक दल, संघसंस्था र सरकारले साथ दिनुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले ल्याबलाई अन्य बेला पनि प्रयोग गर्न मिल्ने बहुउपयोगी बनाउन सकिने खालको प्रस्ताव ल्याउन आग्रह गरे । प्रदेश सरकारले सोका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अभियानका सहसंयोजक विनाद बस्नेतले सरकारल आह्वान गरे योभन्दा पनि ठुलो काम गर्न अभियान तयार रहेको बताए ।

प्रयोगशाला स्थापना र सञ्चालन रोक्न केही व्यक्तिहरु लागिपरेकोप्रति इंगित गर्दै बस्नेतले असल भावले गरेको काममा कसैको अवरोध नटिक्ने बताए ।

 प्रयोगशाला स्थापना गर्न साझेदार दुई संस्था सहकारी संघ र अन्तरास्ट्रिय झापाली समाजले ५० लाख रुपैयाँ योगदान गरेका छन् । १४१ वटा संस्था र १२९५ जना व्यक्तिबाट एक करोड ७६ लाख रुपैयाँ संकलन भएको छ ।

हुनेखानेले विपन्न अवस्थाका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका आधारमा बन्दा बन्दीका बेला एकका लागि एक अभियानको अवधारणा अघि सारिएको थियो । अभियान सञ्चालनका क्रममा १७३५ परिवारलाई खाद्यान्न सहयोग बाँडिएको छ ।

कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल विश्वकर्माले गरेका थिए ।