विप्लवकाे विद्यार्थी संगठनकाे रक्तदानमा प्रहरी हस्तक्षेप

सेयर गर्नुहोस्

इटहरी, भदाै ३१
विप्लव माओवादी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी) ले गरेको रक्तदान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला कमिटीले महामारीका कारण उत्पन्न भएको रगत अभावलाई मध्यनजर गर्दै मङ्गलवार धरानमा गरेको रक्तदान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारद्वारा प्रतिबन्धित रहेको नेकपा माओवादी सम्बद्ध विद्यार्थी सङ्गठनको कार्यक्रममा हस्तक्षेप भएको हो । धरान रेडक्रसको प्राविधिक सहयोगमा रेडक्रस भवनमा आयोजना गरेको कार्यक्रममा २५ ब्लड सङ्कलन भएपछि प्रहरीले हस्तक्षेप गरेको अखिल(क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष नतासा सुबेदीले बताइन् ।

महामारीको समयमा अस्पतालमा रगत अभाव भएको बुझेपछि आफूहरूले कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

केही दिन अघि मात्र सङ्गठनको केन्द्रीय समितिले सबै जिल्ला देखि इकाई सम्मलाई रक्तदानमा सहभागी हुन विज्ञप्ति मार्फत आह्वान समेत गरेको थियो। सोही बमोजिम सुनसरीमा पनि कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।