झापा, भदौ १९: तीन दिन अघि शिवसताक्षीको रतुवामाई आयोजनाको जंगलमा भएको २८ वर्षीय गोमनसिंह मगरको हत्यामा उनकै मिल्ने साथी संलग्न भएको प्रहरीले पत्ता लगाएको छ ।
प्रहरी स्रोतका अनुसार गोमनसिंहको हत्यामा बहराइनमा बस्दाका साथी मनकुमार लिम्बु संलग्न थिए । अभियुक्त लिम्बु पक्राउ परेका छन् । अभियुक्तका बारेमा प्रहरीले शनिवार विहान पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ ।
बहराइनबाट फर्केका दुबै बीच लेनदेन कारोवारमा विवाद रहेको र सोही निहुँमा मनकुमारले आफ्नै साथी गोमनसिंहको हत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीसमक्ष मनकुमारले झिलझिले बजारमा फोनबाट बोलाएर मोटरसाइकल चढेर राजमार्गभन्दा एक किलोमिटर उत्तर जंगलमा गएको र त्यही धारिलो छुराले साथीको घाँटी रेटेर हत्या गरेको वयान दिएको बुझिएको छ ।
मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको छ ।
प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बुको संलग्नता पुष्टि भएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले भने हत्यामा अन्य कारण पनि हुनसक्ने बताउँदै अनुसन्धान जारी रहेको उल्लेख गरे ।
प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको स्रोत बताउँछ ।
प्रहरीले मगरको शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट तालिम प्राप्त ट्याकर कुकुर मगाएको थियो । जसले आरोपी राजमार्गतिर भागेको संकेत गरेको थियो । त्यसपछि भने कुकुर अलमलिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।