विराटनगरका प्रमुख प्रशासकीय अधिकृतलाई काेराेना संक्रमण

सेयर गर्नुहोस्
  • 7
    Shares

विराटनगर, भदाै २८
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार स्वाब दिएका पोखरेललाई कोरोना संक्रमण भएको रिपोर्ट आइतबार बिहान आएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना देखिएको पुष्टि गरे । पोखरेललाई संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा ५ दिन बन्द गर्ने तयारी गरिएको छ । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो ।

वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनुअगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी थिए । उनलाई त्यहि बैठकबाट कोरोना संक्रमण भएको अनुमान महानगरका कर्मचारीले गरेका छन् ।

विराटनगरमा अहिलेसम्म १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसेकको छ । जसमध्ये १७ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणमुक्त भएका छन् ।