विराटनगर, भदाै २७
भदौ २६ गते विराटनगरस्थित कोसी अस्पताललले भर्ना लिन नमानेपछि विराटनगर–६ सुकुम्वासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको मृत्यु भयो। प्रसूति व्यथा लागेपछि अस्पताल ल्याइएकी विमलालाई कोसी अस्पतालले भर्ना लिन नमानेपछि प्रसूति सेवासमेत नपाएर उनको मृत्यु भयो।
अस्पतालले भर्ना नलिएपछि विमलाका आफन्तले फर्काएर घरमै लगेका थिए। प्रसूति सेवाबाट अस्पतालले बञ्चित गरेपछि विमलाले घरमै छटपटिंदै ज्यान गुमाउनुपर्यो। स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई राती १ बजेतिर व्यथा लागेपछि कोसीमा प्रसूतिका लागि लगेका थिए।
अस्पतालले वेड अभाव भएको भन्दै भर्ना लिन नमानेपछि उनका आफन्तले बिरामीलाई फर्काएर घर लगे। घर पुगेपछि सुत्केरी हुन नसकेर बिहान ४ बजेतिर उनको मृत्यु भयो। दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रूपमा कमजोर हुँदा अस्पतालले भर्ना लिन नमानेको मुखियाले बताए। ‘दुई पटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो,’ उनले भने, ‘बच्चा जन्माउन नसक्दा सुत्केरी व्यथाले छटपटिंदै विमलाको मृत्यु भयो।’
अस्पतालले भर्ना लिन नमानेर सुस्केरी व्यथा लागेकी महिलाको ज्यान जानु विडम्बना भएको नेपाली कांग्रैस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बताए। प्रशासनले बिरामी उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको बताउँदै, कार्कीले भने, ‘गरिब तथा विपन्नका लागि सरकार कहाँ छ?’ उनले उपचार सेवा नपाएर गर्भवती महिलाको मृत्यु भएको घटना छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग समेत गरे।
विमला मात्रै हैन अस्पतालले उपचार गर्न नमानेकै कारण मोरङ कानेपोखरी–५ की २३ वर्षीया सविना थापा (दर्जी)ले पनि उपचार अभावमा ज्यान गुमाउनु पर्यो। उपचारका लागि विराटनगरका विभिन्न अस्पताल चाहर्दा चाहर्दै थापाको ज्यान गयो। भदौ १७ गते राती शौचालय जाँदा लडेकी थापाको सात महिनाको गर्भ थियो। शौचालयमा लडेको २४ घण्टापछि स्वास्थ्यमा समस्या देखिएर उपचारका लागि विराटनगर ल्याइए पनि विराटनगरका कुनै पनि अस्पतालले भर्ना नै लिन मानेन्। उनका आफन्तका अनुसार विराटनगरको कोसीसहित विभिन्न ६ वटा अस्पतालमा रातभरी उपचारका लागि हारगुहार गरे पनि कसैले उपचार गर्न मानेन्।
विराटनगरका अस्पतालले भर्ना गर्न नमानेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई पुर्याइयो। सविनाको विपी प्रतिष्ठान धरानमै मृत्यु भयो। ‘समयमै उपचार पाएको भए ज्यान जोगिने थियो’ सविनाकी अमाजु दुर्गा सुन्दासले भनिन्। कोरोना नियन्त्रणका लागि चैतमा लगाइएको लकडाउन यता विराटनगरका अस्पतालहरूले उपचार गर्न नमान्दा उपचार नपाएर ६ जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेहरूमा अधिकांश गर्भवती र महिला छन्। उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राई, मोरङ पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राईलगायतले अस्पतालबाट उपचार सेवा नपाउँदा मृत्यु भइसकेको छ।
विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका ८१ वर्षीय डिगबहादुर राई भने विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरेर भदौ २५ गते घर फर्केका छन्।
हुन त कोरोना संक्रमणकालमा मात्रै हैन सामान्य अवस्थामा पनि कहिले काँही विराटनगरका अस्पतालले भर्ना नलिएर विरामीको मृत्यु भएको आरोप लाग्ने गर्दथ्यो। तर, कोरोनाको संक्रमण फैलिएपछि भने अस्पतालहरूले उपचारबाट बञ्चित गराएकै कारण ज्यान गुमाउनेहरूको संख्या बढेको छ। कतिपय घटनाहरू सार्वजनिक नै नभएका कारण पनि अस्पतालले भर्ना नगर्दा उपचारबाट बञ्चित भएका र मृत्यु भएकाहरूको यकिन तथ्याँक कतै छैन।
अस्पतालहरूमा उपचारका लागि भर्ना भएका र अस्पतालले अन्य अस्पतालमा रिफर गरेको विरामीको तथ्याँक भेटिए पनि अस्पतालले उपचार नगरी फर्काएका विरामीको तथ्याँक कतै भेटिँदैन। जसका कारण उपचारबाट बञ्चित भएका र अस्पतालले स्वास्थ्य सेवाबाट बञ्चित गराउँदा मृत्यु भएका विरामीको यति नै छन् भन्ने एकिन छैन। यति मात्रै हैन अस्पतालले भर्ना गर्न नमान्दा उपचार नपाएर मृत्यु भएको उजुरी परे पनि छानविन र दोषीलाई कार्वाही गर्न अझ गाह्रो हुने गरेको देखिन्छ। उजुरी परेपछि अस्पतालहरूले छानविन समिति बनाउने भए पनि अस्पतालमा भर्ना नै नभएको विरामीको रेकर्ड अस्पतालमा भेटिंदैन।
मृतकका आफन्तलाई देखाउनका लागि छानविन समिति बनाइने गरेपनि हालसम्म विराटनगरका कुनै पनि अस्पतालले कुनै पनि कर्मचारीलाई दोषी ठहराएका छैनन्। न त कसैलाई कार्वाही नै गरिएको छ। कोरोना महामारी फैलिएसँगै विभिन्न बहाना बनाएर विराटनगरका अस्पतालले विरामी फर्काउने गरेका छन्। उपचारका लागि अस्पताल आएका विरामीलाई विराटनगरका निजी तथा सरकारी अस्पतालहरूले उपचार गर्न नमानेपछि धेरै विरामी विना उपचार फर्कने गरेका छन्। आकस्मिक रुपमा तत्कालै उपचार पाउनुपर्ने गम्भीर प्रकृतिका विरामी त विराटनगरका अस्पतालहरू चाहर्दा चाहर्दै मृत्युबरण गर्नु पर्ने अवस्था कहाली लाग्दो छ।
यता अस्पतालहरू भने उपचार नगरी विरामी फर्काएको भन्ने आरोप गलत भएको दाबी गर्दछन्। कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले उपचारका लागि अस्पताल आएका कुनै पनि विरामीलाई फिर्ता नपठाएको दाबी गरे। ‘अहिलेसम्म कुनै पनि बिरामीलाई फिर्ता पठाएका छैनौं र त्यस्तो गरेको पनि छैन,’ डाक्टर दासले भने। उनले प्रसूति व्यथा लागेर आएकी महिलालाई फर्काएको घटनाका विषयमा छानविन गरे पनि अस्पतालका कर्मचारीहरूले फर्काएको कुनै प्रमाण फेला नपरेको बताए।
यता जिल्ला प्रशासन कार्यालय मोरङले भने अस्पताल आएका विरामीको उपचारको व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ। विराटनगरका सबै अस्पतालका प्रतिनिधिहरूसँग छलफल गरी उपचारको अभावमा विरामीको मृत्यु हुने अवस्था आउन नदिन निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। (नागरिकबाट)