काठमाडौं । ‘उद्धव ठाकरे ! आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’
बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् ।
शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान हुन्छन् । कोही पनि यो समुहसँग पंगा लिन खोज्दैनन् । त्यसमाथि उद्धव ठाकरे मुख्यमन्त्रीजस्तो शक्तिशाली पदमा समेत छन् । तर, कंगनाले उनलाई सिधै ‘तँ’ भनेर सम्वोधन गरिन् । आफ्नो करिअरलाई नै दाउमा राखेर गरेको यो लल्कारले कंगनाको समग्र चरित्र चित्रण गर्छ । यही आक्रामक स्वाभाव र गतिले गर्दा उनको छवि अन्य बलिउड नायिकाभन्दा पृथक छ । उनी कलाकारिताभन्दा माथि उठेकी छन् ।
गत बुधबार बीएमसी -बि्रहनमुम्बई मुनिसिपल कर्पोरेसन) ले महाराष्ट्र सरकारको निर्देशनमा कंगनाको मुम्बईस्थित कार्यालयमा बुल्डोजर चलाएको थियो । त्यसको प्रतिकार गर्दै उनले आगो ओकलेकी हुन् ।
कंगना र शिवसेनाको विवाद अहिले अदालतमा पुगेको छ । भारतीय जनता र त्यहाँका मिडिया कंगनाको पक्ष र विपक्षमा बाँडिएका छन् ।
शिवसेना र कंगनाबीचको बिवाद बुझ्न धेरै पछाडि फर्किनुपर्दैन । विगत ९ दिनदेखि उनीहरु आमने-सामने भएका हुन् । यो विवाद बलिउड अभिनेता सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणसँग जोडिएको छ ।
गत १४ जूनमा सुशान्त बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिए । उनले आत्महत्या गरेको भनेर प्रहरीले प्रारम्भिक वयान दियो । तर, कंगनाले भिडियो सम्वोधनमार्फत सुशान्तको हत्या भएको आशंका व्यक्त गरिन् । यसलाई बलिउडमा व्याप्त नेपोटिप्जम -नातावाद) सँग जोडेर छानविनको माग गरिन् । त्यसयता उनले घटनाको वास्तविकतालाई मुम्बई प्रहरीले ढाकछोप गर्न खोजेको भनेर आवाज उठाइरहेकी थिइन् ।
यही सिलसिलामा गत ३ सेप्टेम्बरमा कंगनाले गरेको एउटा टि्वटले आगो बाल्यो । शिवसेनासँग कंगनाको लडाईंको प्रस्थानविन्दू त्यही टि्वट थियो, जसमा उनले सुशान्तको ‘हत्या’पछि आफूले असुरक्षित महसुस गरिरहेको बताएकी थिइन् । साथै, मुम्बईलाई पाकिस्तान नियन्त्रित काश्मिरसँग तुलना गरेकी थिइन् ।
कंगनाले लेखेकी थिइन्, ‘शिवसेनाका नेता सञ्जय राउतले मलाई खुल्ला धम्की दिएका छन् र मुम्बई नफर्किन भनेका छन् । किन मलाई मुम्बई पाकिस्तान नियन्त्रित काश्मिरजस्तो महसुस भइरहेको छ ?’
कंगनाको टि्वटले शिवसेनालाई स्वभावत उत्तेजित तुल्यायो । एउटा अन्तरवार्तामा त्यसको जवाफ दिँदै शिवसेनाका नेता सञ्जय राउतले कंगनालाई ‘हरामखोर लड्की’ भनिदिए । शिवसेनाका केही महिलाहरु सडकमै ओर्लिए । उनीहरुले कंगनाको पोष्टरमा आफ्नो जुत्ता/चप्पलले प्रहार गर्दै आक्रोश पोखे ।
त्यसपछि कंगनाको अर्को टि्वट आयो । उनले लेखिन्, ‘सन् २००८ मा मलाई मुभी माफियाले मानसिकरोगी करार गरेको थियो । उनीहरुले नै २०१६ मा मलाई वोक्सीको संज्ञा दिए । २०२० मा महाराष्ट्रका मन्त्रीले मलाई हरामखोर लड्की भनेका छन् । मैले यति मात्रै भनेकी थिएँ कि म आफूलाई मुम्बईमा असुरक्षित महसुस गरिहेकी छु । असहनशीलताको बहस छेड्ने योद्धाहरु कता छन् ?’
त्यसपछि उनले आफू सेप्टेम्बर ९ तारिखमा मुम्बई आउने घोषणा सामाजिक सञ्ज्ाालबाटै गरिन् । त्यसबेला उनी हिमाञ्चल प्रदेशस्थित आफ्नो घरमै थिइन् । यहीबीचमा केन्द्र सरकारले उनलाई वाइ-प्लस सेक्युरिटी उपलब्ध गरायो ।
यता शिवसेनाको नेतृत्वमा रहेको बीएमसीका कर्मचारी अचानक मुम्बईको बान्द्रास्थित कंगनाको कार्यालय मणिकणिर्का फिल्समा पुगे । उनीहरुले त्यहाँ एउटा सूचना टाँसेर फर्किए । उक्त कार्यालय भवन अवैधरुपमा निर्माण भएको भन्दै तत्काल भत्काउन सूचनामा लेखिएको थियो । त्यसको भोलिपल्ट बुधबार कंगनाको कार्यालयमा बुल्डोजर लगेर ध्वंस गरियो । करिब ५० करोड रुपैयाँको भवनमा २ करोडको क्षति भएको बताइएको छ ।
कंगनाले महाराष्ट्र सरकार र शिवसेनाविरुद्ध बम्बे हाइ कोर्टमा पनि अपिल गरिन् । उक्त अदालतले बीएमसीको कारवाही तत्काल रोक्न आदेश दिएको छ, जसले कंगनालाई राहत मिलेको छ । बीएमसीको सोही एक्सनपछि कंगनाले मुख्यमन्त्रीलाई लल्कारेकी थिइन् ।
शिवसेना रक्षात्मक
भारतमा शिवसेना पार्टी उग्रताका लागि चिनिन्छ । आफ्नो थोरै मात्रै आलोचना गर्नेहरुमाथि शिवसेनाका नेता-कार्यकर्ता बाघले शिकार झम्टेझैं झम्टिन्छन् । भगवान शिवको नाम बेचिरहेको हुनाले जति उग्र भए पनि हिन्दू धर्म मान्ने भारतीयमा यो पार्टीप्रति सहानुभूति छ । बलिउड कलाकारहरु शिवसेनासँग आतंकत हुने कारण यही हो ।
तर, अहिले अस्वभाविक रुपमा कंगनाले शिवसेनालाई रक्षात्मक अवस्थामा पुर्याएकी छिन् । आजभन्दा अगाडि सायदै भारतका कुनै मुख्यमन्त्रीलाई एक सेलिबि्रटीले यसरी ‘तँ’ भनेर सम्वोधन गरेका थिए । यसले उद्धव ठाकरेलाई एकदमै उत्तेजित तुल्याउने अनुमान थियो । उनले अर्को कडा कदम चाल्ने ठानिएको थियो । तर, अहिलेसम्म त्यस्तो केही भएको छैन । ठाकरे मौन छन् ।
सञ्जय राउतले एक अन्तरवार्तामा निकै नम्र अभिव्यक्ति दिएका छन् । बीएमसीले गरेको कारवाहीमा आफ्नो पार्टीको हात नरहेको भन्दै उनले कंगनासँग थप लफडा गर्न नचाहेको बताए । उनले भने, ‘मेरो तर्फबाट यो प्रकरण सकिएको छ । कंगनालाई मुम्बईर्मा बस्न कुनै अवरोध हुनेछैन,’ उनले भनेका छन् ।
सत्ता र शक्ति आफ्नो हातमा हुँदाहुँदै शिवसेना किन कंगनासँग रक्षात्मक भयो त ? एकथरि विश्लेषकहरु शिवसेना अब पहिलेजस्तो आक्रामक नरहेको बताउँछन्, जस्तो बाल ठाकरेको पालामा थियो । उद्धव ठाकरेमा नेतृत्व हस्तान्तरणपछि यो पार्टीमा राजनीतिक चरित्र बढेको उनीहरुको विश्लेषण छ ।
‘बाल ठाकरे यस्ता थिए कि उनको विरोधमा कसैले चुइक्क बोल्यो कि तुरुन्तै आफ्ना कार्यकर्ता सडकमा उतार्थे, उस्तै परे भौतिक आक्रमण गर्न पनि पछि पर्दैनथे,’ एक विश्लेषक भन्छन्, ‘तर, उद्धव ठाकेर अपेक्षाकृत नरम एवं शान्त छन् ।’
उनको भनाइमा अब कंगनासँग पैंठेजोरी खेल्दाभन्दा मौन बस्दा नै पार्टीलाई फाइदा हुने निस्कर्षमा ठाकरे पुगेको हुन सक्छ । कंगनाले मुम्बईलाई पाकिस्तान नियन्त्रित काश्मिरको संज्ञा दिँदा त्यहाँका जनताको सहानुभूति आफूलाई आउने ठाकरेले आशा गरेका छन् । यसले मुम्बईमा चाँडै हुने महानगरको चुनावमा फाग्दा पुग्ने शिवसेनाको आँकलन छ ।
द्वन्द्वको राजनीतीकरण
जानकारहरु यो प्रकरण पूर्णरुपमा राजनीतिकरण भइसकेको बताउँछन् । उनीहरुको भनाइमा कंगनालाई अहिले भारतीय जनता पार्टी -बीजेपी) को आडभरोसा प्राप्त छ । कतिले त कंगनाको काँधमा राखेर वीजेपीले बन्दूक चलाइरहेको दाबीसमेत गरेका छन् ।
महाराष्ट्रको सरकार अलोकपि्रय बनेको खण्डमा त्यसको राजनीतिक लाभ आफूलाई मिल्न सक्ने लोभले बीजेपीले कंगनालाई बोकिरहेको विश्लेषण गरिएको छ । फेरि, आफ्ना प्रतिस्पर्धी दलहरुलाई कुनै प्रभावशाली व्यक्ति वा समुहले निशाना बनाउँछ भने त्यसलाई काँधमा बोक्नु राजनीतिक दलहरुको स्वभाव नै हो । त्यसैले बीजेपीका केही नेताले खुलेरै कंगनाको समर्थन गरिरहेका छन् ।
बरिष्ठ पत्रकार हेमन्त देसाईको भनाइमा अहिलेको प्रकरणले वीजेपी र शिवसेना दुवैलाई राजनीतिक फाइदा हुन सक्छ । उनी भन्छन्, ‘राज्यमा कोरोना महामारीको फैलावटका कारण तीव्र आलोचना खेपिरहेको महाराष्ट्र सरकार र शिवसेनालाई अहिले भएको विषयान्तरले राहत मिलेको छ । अर्कोतर्फ उत्तर भारतीय राज्यहरुमा बीजेपीलाई फाइदा भएको छ । त्यसैले यी दुवै दल यो प्रकरणबाट सन्तुष्ट छन् ।’
अर्कोतर्फ शिवसेनाको साथमा कांग्रेस आई छ । महाराष्ट्रमा शिवसेना, कांग्रेस र एनसीपीको गठवन्धन सरकार छ । आफू सम्मिलित सरकारविरुद्ध कंगनाले जेहाद छेडेकी हुनाले शिवसेनालाई साथ दिनु कांग्रेसको वाध्यता पनि हो ।
कंगानाले पछिल्लोपटक आफ्नो निशाना कांग्रेस आईतिर पनि सोझ्याएकी छन् । उनले आफ्नो एक टि्वटमा शिवसेनालाई सोनिया सेनाको संज्ञा दिइन् । यसबाट कंगना स्वयम् पनि यो मुद्दालाई राजनीतिकरण गर्न नै चम्किएकी छन् भन्ने निस्कर्षमा पुग्न सकिन्छ । कंगनाको यो अभिव्यक्तिपछि कांग्रेस आई अब खुलेर उनको विरुद्धमा उभिने छ ।
संवेदनाको खेती गर्दै
यो पूरा प्रकरणमा कंगनाले एकदमै चतुरतापूर्वक संवेदनाको खेती गरेकी छन् । उनले धर्म र राष्ट्रियताको आड लिएर भारतीय जनताको मात्र होइन, सत्तारुढ वीजेपीको पनि समर्थन पाउन सफल भएकी छन् । बीजेपी नेतृत्वको केन्द्र सरकारले उनलाई उच्च सुरक्षासमेत उपलब्ध गराएको छ ।
कंगनाले सुरुमा सुशान्तको मृत्युलाई शंकास्पद भन्दै आम भारतीयको भावनालाई प्रतिनिधित्व गरिन् । त्यससँगै नेपोटिज्मको बहस छेडेर आफूलाई थप लोकपि्रय बनाइन् । अहिले चाहिँ उनले धर्म र राष्ट्रियताको सहारासमेत लिएकी छन् । मुम्बईलाई पाकिस्तान समर्थित काश्मिरको संज्ञा दिएर उनले पाकिस्तानविरोधि जनमतलाई पनि आकृष्ट गर्न सफल भइन् । अहिले उनले आफ्नो कार्यालयलाई राम मन्दिरसँग तुलना गरेकी छन् ।
कंगनाले भनेकी छन्, ‘मणिकणिर्का फिल्म्सले पहिलो फिल्मको रुपमा अयोध्या निर्माण गर्ने घोषणा गरेको थियो, त्यसैले यो भवन मेरो लागि राम मन्दिर बराबर छ । यो मन्दिर फेरि ठडिने छ । जय श्री राम, जय श्री राम, जय श्री राम ।’
प्रष्ट छ, कंगना यो विवादलाई धर्मसँग जोड्न र मोड्न चाहन्छिन् । भारतीयहरु धर्मका आधारमा कसरी विभाजित छन् र हिन्दू धर्मको राजनीति गर्नेहरुको भारतमा कसरी फस्टाएका छन् उनले बुझेकी छन् । त्यही भएर उनले आफ्नो अभिव्यक्तिमा भगवान रामलाई प्रवेश गराएकी हुन् । उनले अयोध्यामाथि मात्र होइन, पाकिस्तान नियन्त्रित काश्मिरमाथि पनि फिल्म बनाउने घोषणा गरेकी छन् ।
धर्म र राष्ट्रियताकै आडमा राजनीति गरिरहेको शिवसेनालाई धर्म र राष्ट्रियताकै आड लिएर आक्रमण गर्नु कंगनाको भयानक चतुरता हो । उनले यसो नगरेको भए जनसमर्थन शिवसेनालाई जान सक्थ्यो । यो रणनीतिबाट उनले मुलधारका भारतीय मिडियाहरुलाई पनि आफ्नो पक्षमा पारेकी छिन् । धर्म र राष्ट्रियताको मामलामा भारतीय जनताभन्दा मिडिया अझै बढी अतिवादी मानिन्छन् ।
फिल्मबाट टाढिने सोच ?
१७ वर्षकै उमेरमा फिल्ममा प्रवेश गरेकी कंगनाले निकै संघर्ष गरेर आजको स्थान बनाएकी हुन् । सुरु-सुरुमा उनलाई मुख्य नायिकाको रुपमा लिन निर्माता-निर्देशक हच्किन्थे । तर, आजको दिनमा उनको स्टारडम कुनै हिरोको भन्दा कम छैन । उनले एक्लो बलबुतामा सुपरहिट फिल्महरु दिएकी छन् ।
सन् २००६ मा ‘गैंगस्टरबाट’ कंगनाको बलिउडमा प्रवेश भयो । पहिलो फिल्ममा लिड रोल गरेपछि त्यसपछि थुप्रै फिल्ममा उनले सहनायिका बनेर काम गरिन् ।
सन् २०११ मा आएको फिल्म ‘तनु वेड्स मनु’ फिल्म कंगनाको करिअरमा टर्निङ प्वाइन्ट बनेको थियो । यस्तै, सन् २०१३ मा आएको ‘क्वीन’ ले उनलाई नयाँ उचाइ दियो । उनी अरु नायिकाभन्दा विशेष मानिन थालिन् । यी दुवै फिल्मबाट कंगनालाई नेसनल अवार्ड प्राप्त भएको थियो ।
कलाकारिताभन्दा बाहिरका बौद्धिक बहसमा पनि कंगना सँधै अगाडि रहिन् । उनी कुनै पनि विषयवस्तुमा आक्रामक र निर्धक्क तरिकाले आफ्नो कुरा राख्ने गर्छिन् । कोही रिसाउलान् कि भन्ने परवाह गर्दिनन् । यो स्वभावले गर्दा उनको फिल्म क्षेत्रभन्दा बाहिर प्रतिष्ठा बढेको छ । तर, फिल्म इन्डष्ट्रभित्र टन्नै सत्रु कमाएकी छिन् ।
जस्तो कंगनाले केही दिन अगाडि एउटा टि्वटमा लेखिन्, ‘म रणवीर सिंह, रणवीर कपुर, अयान मुखर्जी, विक्की कौशिकसँग प्रार्थना गर्छु कि उनीहरुले ड्रग टेस्टका लागि आफ्नो ब्लड स्याम्पल दिउन् । अफवाह फैलिएको छ कि उनीहरु कोकिनका अम्मली हुन् ।’ यसरी एकैपटक उनले चारजना स्टारहरुलाई घुमाउरो तवरले ड्रग्स युजर्सको संज्ञा दिइन् ।
बलिउडमा ब्याप्त नेपोटिज्मको विषयलाई मुलधारको बहसमा ल्याउने श्रेय कंगनालाई जान्छ । उनले यस्ता कुराहरु बोल्दा धेरै स्टारहरु उनीसँग रुष्ट छन् । धेरैसँग उनको सम्बन्ध बिग्रेको छ । धेरै फिल्म उनले गुमाएकी पनि छन् । तर, पनि उनी आफ्नो शैली फेर्ने चेष्टामा छैनन् ।
आफ्नो यस्तो ‘बोल्ड’ स्वभावले फिल्म करिअर धरापमा पर्न सक्छ भन्ने कंगनाले नबुझेकी अवश्य होइनन् । भविष्यमा उनलाई फिल्म खेलाउन धेरै निर्माता-निर्देशकहरु पछि हट्न सक्छन् । तर, विश्लेषकहरुको आँकलन छ कि कंगना अब फिल्मबाट राजनीतिमा हाम्फाल्नेछिन् । फिल्म समीक्षक तनुल ठाकुरको भनाइमा कंगनाले फिल्म इन्डष्ट्रीमा आफ्नो करिअरलाई महत्व दिन छोडिसकेकी छन् ।
बीबीसीसँग उनी भन्छन्, ‘उनी एक महान कलाकार हुन् । तर, एउटा व्यक्तिको रुपमा उनका धेरै कमजोरी छन् । उनले अब आफ्नो फिल्मी करिअरलाई अगाडि नबढाउन सक्छिन् । सम्भवतः उनले अब राजनीतिमा प्रवेश गर्ने बाटो खोल्न चाहिरहेकी छन् ।’