झापा, भदाै २७
एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिटमा सलग्न २ जना धरौटीमा रिहा भएका छन् । कुटपीटमा सलग्न दम्पत्तिसँग झापा जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ ।
भदौ ८ गते सात महिनाकी गर्भवती रहेकी चन्द्रकलालाई मेचीनगर–१३ चारआलीका दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुमायाले जातिय विभेद गर्दै कुटपिट गरेका थिए । श्रेष्ठ दम्पतीको कुटपिटबाट चन्द्रकलाका श्रीमान् सुमन खाती पनि पीडित भएका थिए ।
घटनापछि पक्राउ परेका श्रेष्ठ दम्पती उपर प्रहरीले जातिय विभेद गरेको विषयमा मुद्दा चलाएको थियो ।
शुक्रवार झापा जिल्ला अदालतले उनीहरुलाई तीन लाख धरौटी लिएर छोड्ने आदेश दिएको छ । उनीहरु १८ दिनसम्म प्रहरी हिरासतमा बसेका छन् । धरौटी बुझाएपछि उनीहरु तारेखमा रिहा भएका हुन् ।