आइतबारदेखि वीपी प्रतिष्ठानको ओपिडी सेवा सुरु हुने

सेयर गर्नुहोस्
  • 5
    Shares

धरान, भदाै २६
एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने भएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले बिहिबार सुचना जारी गर्दै आइतबार(भदौ २८ गते)देखि ओपिडी सेवा सञ्चालनमा आउने जानकारी दिएका हुन् । स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउन(बन्दाबन्दी)लाई खुकुलो बनाउदै गएको कारण प्रतिष्ठानले पनि ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको अस्पताल निर्देशक डा.साहले बताए ।

डा.साहका अनुसार ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पिपिई, आवश्यक सुरक्षा, सामाजिक दुरी, हातधुने लगायतको प्रबन्ध गरिएको छ । ‘आइतबारदेखि ओपिडी सुरु हुन्छ । पिपिई, सामाजिक दुरी, हातुधने व्यवस्था, सुरक्षालगायत सबै प्रबन्ध गछौं,’निर्देशक डा.साहले भने । प्रतिष्ठानमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपिडी सेवा बन्द गरेको थियो ।