बिर्तामाेड, भदाै २५
एकजना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीका कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको झापाको विर्तामोडको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोरोना भाइरसको संक्रमणले केही फरक नपर्ने बताएका छन्।
उक्त अस्पतालका जम्मा ३२ जना कर्मचारी अहिले होम क्वारेन्टिनमा बसेका छन्। तर आफूलाई कुनै चिन्ता नभएको प्रसाईंले प्रतिक्रिया दिए।
उनले भने, ‘यो कोरोना हावा हो। आइसोलेशनमा बसेका १२ जना स्वास्थ्यकर्मी दिनभर तास र लुडो खेलेर बसेका छन्। हामीलाई केही चिन्ता छैन।’
उनले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहेको बताए। आफ्नो अस्पतालका संक्रमित स्वास्थ्यकर्मीको प्लाज्माले धेरै संक्रमितको उपचार हुने भएकाले अझै धेरै भइदिए राम्रो हुने उनले बताए।
प्रसाईंले भने, ‘म त जति धेरै संक्रमण बढ्यो त्यति राम्रो भन्दैछु। उनीहरूको प्लाज्मा काम लाग्छि नि।’
अस्पतालमा काम गर्ने अन्य कर्मचारीले पनि ‘हामीलाई पनि कोरोना भइदिए हुन्थ्यो’ भनिरहेको उनले बताए। विज्ञहरूले कोभिड १९ को संक्रमणलाई वेवास्ता नगर्न चेतावनी दिइरहेका बेला उनले नेपालमा विज्ञ नै नभएको बताए।
उनले भने, ‘सबैलाई कोरोना हुनुपर्छ। नेपालभरि फैलिनुपर्छ। कोरोनासंग लिभिङ टुगेदर भएपछि कोरोनाको खेलै खत्तम हुन्छ। मर्ने मर्छ बाँच्ने बाँच्छ। अब गर्ने के?’
विर्तामोड नगरपालिकालाई भने उक्त अस्पताल संक्रमणको उद्गम थलो बन्ला कि भन्ने चिन्ता रहेको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।
बिएण्डसीमा काम गर्ने कर्मचारीले पीसीआर परीक्षण गराउन इच्छुक देखिए पनि अस्पताल प्रशासनले परीक्षण गराउन अनुमति नदिएको नगरपालिका कार्यालयले जनाएको छ।
बिहीबार ती १२ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ८२ जना स्थानीयबासीको स्वाब संकलन गरिएको छ। बिएण्डसी अस्पतालले ८ सय भन्दा बढी कर्मचारीमा १८ जनाको मात्र स्वाब संकलन गरेर परीक्षणमा पठाएको छ। (देशसञ्चारबाट)