सिपिएलमा सफल सन्दीप

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै २५
नेपालका लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन दिनप्रतिदिन राम्रो हुँदै गएको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सन्दीपले खेलेका तीन संस्करणलाई मूल्याङ्कन गर्दा पनि यो पटक झनै उनको प्रदर्शन जुझारु देखियो।

सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज यो संस्करणको सिपिएल क्रिकेटमा सेमिफाइनलभन्दा अघि बढ्न सकेन। सिपिएलमा तलावाजको ब्याटिङ बिर्सन लायक रह्यो भने सन्दीप र मुजिब उर रहमान जस्ता लेग स्पिनरको खुबै तारिफ भयो। टिमका लागि मात्रै हैन सिपिएलमै सन्दीप उत्कृष्ट बलरहरुमा ठहरिए। लिग चरणका प्रत्येक खेलमा विकेट लिने उनी तलावाजका एक मात्र बलर हुन्।

सन्दीपले यो पटक ११ खेलको १० इनिङबाट १२ विकेट लिए। सर्वाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा छन्। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

उनले यो संस्करणमा कूल ४० ओभर बलिङ गरेका छन्, जसमा १ ओभर मेडनसहित २११ रन खर्चिदा १२ विकेट लिन सफल भए। उनको इकोनोमी ५.२७ रहेको छ। जुन सिपिएलमा उनले खेलेका यो तीन संस्करणकै उत्कृष्ट हो। उनको एभरेज १७.५८ छ। इकोनोमीकै तुलना गर्ने हो भने उनी सिपिएलकै उत्कृष्ट बलरको दोस्रो स्थानमा छन्। १२ विकेट नै लिएका मोहम्मद नाबीको इकोनोमी रेट ५.०८ रहेको छ।

यस पटक सन्दीपको उत्कृष्ट बलिङमध्ये गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा रह्यो। ४ ओभर बलिङ गरेका सन्दीपले मात्र ८ रन खर्चिएर २ विकेट लिए। यो खेलमा उनको इकोनोमी रेट २ रहेको थियो। १८ पटक डट बल फालेका उनले चौका र छक्का खाएनन् मात्र एक रन वाइडबाट दिए।

सन्दीपलाई तलावाजले यो पटकको संस्करणमा आफ्नो टिममा करिब १ करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित गरेको थियो। सन्दीपको खेलबाट टिम सन्तुष्ट छ।

राम्रोपछि राम्रै
२०१९ को संस्करणमा भने सन्दीपले बारबाडोस ट्रिडेन्ट्सबाट खेलेका थिए। त्यो २०१९ को संस्करणमा बारबाडोस दोस्रो पटक च्याम्पियन भयो। तर सन्दीपले भने त्यो विजयी भावलाई आत्मसाथ गर्न पाएनन्। उनी बीचैमा लिग छोडेर नेपाली राष्ट्रिय टिमका लागि सिंगापुर सिरिज खेल्न उडेका थिए।