विराटनगर, भदाै २४
कोरोना संक्रमितको उपचारको लागि कोभिड अस्पताल सञ्चालनमा ल्याएका विराटनगरका दुई अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार सुरु भएको भएको छ ।
यसअघि सशुल्क उपचार गर्नेगरी कोभिड अस्पताल सञ्चालन गरेका न्युरो अस्पताल र विराट मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएका हुन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि बुढीगंगा–२ टंकिसिनवारीमा रहेको कलेजले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि अस्पतालले सोमबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको कलेजका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए ।
विराट मेडिकल कलेजले ३१ साउनबाट ६० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । तीमध्ये ३८ साधारण र २२ क्याबिन बेड छन् । यस्तै ६ वटा भेन्टिलेटर रहेको छ । विराटमा अहिलेसम्म २९ जना कोरोना संक्रमित भर्ना भएकोमा १६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यता विराटनगरकै न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले पनि कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । कोरोना संक्रमितका लागि छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको न्यूरोले बुधबारबाट संक्रमितको उपचार निःशुल्क गरेको हो ।
न्युरोले विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई ११ भदौबाट न्यूरोले कोभिड अस्पतालमा परिणत गरेको छ । अस्पताललमा बुधबारबाट संक्रमितको उपचार निःशुल्क गरिएको न्यूरो अस्पतालका अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतले जानकारी दिए ।
न्यूरोले ५१ बेडको कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । जसमा ४२ वटा बेड जनरल, ७ वटा आईसीयू र दुई वटा भेण्टिलेटर छन् ।