आइसल्यान्डमाथि बेल्जियमको फराकिलो जित

सेयर गर्नुहोस्

काठमाडौं-बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्यान्डमाथि फराकिलो जित दर्ता गरेको छ। योसँगै बेल्जियमले नेसन्स लिगमा लगातार दुई खेलमा जित हात पारेको हो।

घरेलु टोली बेल्जियमले आइसल्यान्डलाई ५–१ गोलअन्तरले पराजित गर्न सफल भयो। बेल्जियमको जितमा मिसी बाटसुयीले २ गोल गर्दा एक्सल विटसल, ड्रिस मेर्टेन्स जेरेमी डोकुले समान १–१ गोल गरे। यता, आइसल्यान्डका लागि होलम्बर्ट फ्रिजोन्सनले एक गोल फर्काए।

खेलको १०औं मिनेटमा नै होलम्बर्टले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाए। तर यो अग्रता तीन मिनेटसम्म मात्रै कायम रह्याे। खेलको १३औं मिनेटमा नै विटसलले गोल गर्दै बेल्जियमलाई बराबरी दिलाए।

खेलको १७औं मिनेटमा बाटसुयीले गोल गर्दा पहिलो हाफसम्म बेल्जियम २–१ गोलअन्तरले अघि रह्यो। खेलको ५०औं मिनेटमा मेर्टेन्सले गोल गर्दा ६९औं मिनेटमा बाटसुयीले अर्को गोल थप्दै बेल्जियमलाई ४–१ गोलको अग्रता दिलाए। ७९औं मिनेटमा जेरेमीले गोल गर्दै बेल्जियमलाई ५–१ गोलको फराकिलो जित दिलाए।

बेल्जियमको यो लगातार दोस्रो जित हो। यसअघि भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोलअन्तरले पराजित गरेको थियो।

लिग–ए कै समूह ‘बी’ मा भएको अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। घरेलु टोली डेनमार्कविरुद्ध इंग्ल्यान्डले राम्रो खेल्न सकेन।