झापा, भदाै २३
झापा गाउँपालिका वडा नं. २ स्थित कनकाई नदीमा एक मछुवाले २५ केजीको अजङ्गको माछा भेटेका छन् । त्यो माछाको मासु २५ हजार रुपैयाँमा विक्री भएको छ ।
खोलामा भेटिएको सो माछो मोटरसाइकलको पछाडिको सिटमा लोड गरेर बजारमा बेच्न लैजाँदा हेर्नेको भीड उर्लिएको थियो ।
घटना हिजो (सोमवार)को हो । झापा गाउँपालिका वडा नं. २ का अशोक मुखिया सँधै झैँ जाल बोकेर माछा मार्न कनकाई (ठूलो माई)मा पुगे । दिउँसोतिर पानीमा भैसीको पाडो जत्रै अजङ्गको माछा उनले भेटे । परिवारसहित लागेर माछालाई बाइकमा लोड गरेर स्थानीय झापा बजारमा बेच्न लगे ।
प्रतिकिलो एक हजार रुपैयाँका दरले माछाको मासु विक्री भएको थियो । एउटै माछाको मासु २५ हजार रुपैयाँको भएपछि मछुवा अशोक र उनको परिवार दङ्ग भएको छ ।
अहिलेसम्मकै भीमकाय माछो
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले स्थानीय क्षेत्रमा यति ठूलो माछा आफुले पहिलोपल्ट देखेको बताएका छन् ।
उनले स्थानीय ‘गोपा खाडी’को सिमसारमा यत्रो माछा रहेको हुनसक्ने र हालैको बाढीमा सिमसारबाट हेलिएर त्यो माछो माई नदीमा पुगेको दावी गरे । उनले भेटिएको माछो बगाहा जातको भएको बताए ।
गोपा खाडी र नदी जोडिएको जनाउँदै अध्यक्ष साहले बाढीका बेला खाडीबाट बाहिर निस्किएको बगाहा माछो अहिले फेला परेको हुनसक्ने बताए ।
खाडी ५० फिट गहिरो भएको उनले जानकारी दिए । सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुहरुले सोचाइ बनाइरहेको उनले बताए ।
बजारमा मासु हरालुछ
मछुवारा अशोक मुखियाले अजङ्गको माछोलाई मे४प ३७३७ नम्बरको मोटरसाइकलमा पछाडि लोड गरेर स्थानीय झापा बजार पुर्याएका थिए । उनी सिङ्गै माछा बेच्न चाहन्थे । तर दाम कति राख्ने भन्ने निधो गर्न उनले सकेनन् । त्यसपछि साथीहरुको सल्लाहमा उनले मासु बेच्ने सोच बनाए ।
एक हजार रुपैयाँ केजी दरले माछाको मासुको दाम तोकियो । एकैछिनमा हारालुछ विक्री भयो ।