कोरोनाबाट बृद्ध बाआमालाई जोगाऔं

सेयर गर्नुहोस्
  • 4
    Shares

डा. अनुप बास्तोला

नोवेल कोरोना भाइरस महामारी हो, कुनै न कुनै बेला काठमाडौं उपत्यकामा आउनु थियो । तपाईं हामीले जति मेहनत गरे पनि ट्रक चढेर आयो, बोरामा लुकेर आउँछ, आयो ।

म सोच्थेँ, लकडाउनको समयमा युवा पुस्ता मात्र बाहिर निस्किएका होलान् । उनीहरूमा दुई/तीन वटा इन्कुभेसन पिरियड भएपछि सिकिस्त बिरामी आउलान् । अर्थात जाडोतिर मात्र हामी धेरै चापमा पर्छौं जस्तो लागेको थियो । तर हाम्रो बृद्ध जनसंख्या पनि काममा निस्किँदा रहेछन् । यसले सुरुवाती दिनमै सिकिस्त बिरामी आएका छन् र, धेरैजसो अस्पताल भरिएका छन् ।

त्यसो भए काठमाडौं उपत्यकामा संक्रमणको अवस्था कस्तो हो त ? यो प्रश्न उठ्न सक्छ । कुल जनसंख्याको १० देखि १५ प्रतिशत मानिस संक्रमित होलान् भन्ने अनुमानसम्म गर्न सकिन्छ, यकिनका साथ भन्न सकिँदैन । यो पत्ता लगाउने सेरोप्रिमिलेन्स सर्भे गर्न भन्दै आएका छौं । शायद अब हुन्छ पनि होला ।संक्रमणबाट बृद्धबृद्धा, दीर्घरोगी बाआमालाई जोगाउन घरमै आइसोलेसन गर्नुपर्छ, यसलाई रिभर्स क्वारेन्टिन भनिन्छ । ५/६ महिना बाआमालाई घरको छुट्टै कोठा वा फ्लाटमा बस्ने व्यवस्था मिलायौं, घरबाट बाहिर निस्किन दिएनौं भने उहाँहरू सुरक्षित हुनुहुन्छ ।

प्राप्त तथ्यांक हेर्दा ३०/३२ हजारको बक्र (कर्भ) युवामा थुप्रिएको छ । उनीहरूमध्ये अधिकांश सिकिस्त भएका छैनन् । त्यो बक्रमा बालबालिकाको समूह कम छ, किनकी चैतदेखि विद्यालय बन्द छन् र उनीहरूलाई हामीले घरमै राखेको छौं । अर्कोतिर ६०/७० तिर पनि कम छ, धेरै संक्रमित भएका छैनन् ।

तर संक्रमणको लहर हो, बढ्छ बढ्छ । यसलाई कम गर्ने तपाई हाम्रो काम हो । तपाई हामीले मास्क लगायौं, सामाजिक दुरी कायम गर्‍यौं र हात धोयौं भने संक्रमित हुनेहरूको संख्यालाई कम गर्न सकिन्छ । र, केही समयसम्म बस्छ । यो जाडोमा त बस्ने नै भयो । यो जाडोमा दीर्घरोगी बृद्धबुद्धालाई सताउन सक्छ ।

रिभर्स क्वारेन्टिन गरौं

त्यसो भए बाआमालाई कसरी जोगाउने त ? कोरोना भाइरससँगै तपाई हामीले धेरै सुनेको शब्द हो क्वारेन्टिन । यो भनेको बाहिरबाट आएका मानिसहरूमा रोग हुनसक्छ र उसले अरुलाई सार्नसक्छ भनेर उनीहरुलाई छुट्टै ठाउँमा राख्ने र परीक्षण गर्ने गरिन्छ । त्यही राख्ने ठाउँलाई क्वारेन्टिन भनिन्छ ।

संक्रमणबाट बृद्धबृद्धा, दीर्घरोगी बाआमालाई जोगाउन घरमै आइसोलेसन गर्नुपर्छ, यसलाई रिभर्स क्वारेन्टिन भनिन्छ । ५/६ महिना बाआमालाई घरको छुट्टै कोठा वा फ्लाटमा बस्ने व्यवस्था मिलायौं, घरबाट बाहिर निस्किन दिएनौं भने उहाँहरू सुरक्षित हुनुहुन्छ । आखिर, यो सधैंका लागि पनि होइन ।

जस्तो, म अस्पतालमा काम गर्छु, दैनिक कोरोना संक्रमितहरूको उपचारमा खटिएको छु । मैले सावधानी अपनाउँदा अपनाउँदै संक्रमित हुनसक्छु र संक्रमण घरमा लिएर जानसक्छु भनेर छुट्टै बसेको छु । हामीले जाँचेको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि केही दिन यहीँ क्वारेन्टिनमा बसेँ । त्यसपछि घरमा क्वारेन्टिन बनाएको छु ।

मेरो छुट्टै कोठा छ । बाआमालाई भेट्दा २ मिटरको दुरी कायम गर्छु, आफू नजिक जाँदा मास्क लगाउन भन्छु । बच्चासँग निकै कम घुलमिल हुन्छु । अस्ति बुबाको मुख हेर्ने दिन अंकमाल गरेको थिएँ । किनकी बुबाआमा र बच्चालाई जोगाउन मेरो जिम्मेवारी हो ।

यसरी रिभर्स क्वारेन्टिनमा बस्दा पनि उहाँहरूलाई साबुनपानीले बेलाबेला हात धुन लगाउनुपर्छ । बाहिर जान नदिने र बाहिरबाट पनि कोही आउन दिनुहुन्न । बाहिर निस्किनुपर्ने घरका युवा पुस्ताले पनि बाआमासँग दुरी कायम गरेर बस्नुपर्छ ।

दीर्घरोगीहरू पनि घरमै बसौं । सुगर जाँच्न घरमै पिरिक्क गरे हुन्छ । अनि डाक्टरलाई फोन गर्नुस्, डाक्टरसा’ब मेरो सुगर यति आएछ के गर्ने भनेर सोध्नुस् । डाक्टरले औषधि थप्नुस् वा घटाउनुस् भने छोरा नातीलाई ल्याइदेऊ भन्नुस् ।

अर्थात स्वास्थ्यसम्बन्धी सेवा पनि घरमै व्यवस्थापन गर्न सकिन्छ भने घरमै गर्नुस्, सकेसम्म अस्पताल जानबाट बच्नुस् । पित्तथैलीमा भएको ढुंगा जहिले निकाले पनि हुन्छ, अनुहारमा कालो पोतो छ, भोलि उपचार गरे पनि हुन्छ । कान भोलि छेँडेपनि हुन्छ, अहिले नै यही कोरोनाका बेला किन अस्पताल जानु ?

ह्रदयघात भयो, डायलासिस गर्नुछ भने अस्पताल जार्नुपर्छ । तर त्यसबेला पनि युवा पुस्ताले आफ्ना बाआमालाई जोगाउन मास्क, ह्याण्ड स्यानिटाइजरको व्यवस्था गरिदिनुस्, अस्पतालमा सामाजिक दुरी कायम भएको छ कि छैन हेर्नुस् । अर्थात सकेसम्म जोगाउनुस्, यो तपाई हाम्रो दायित्व हो ।

म यो किन भनिरहेको छ, म कहाँ सिस्कित भएर आउने अधिकांश ४० वर्षभन्दा माथिका छन् । ५०/६० वर्षका दीर्घरोगीहरु छन् । उनीहरूलाई कोरोनाले गाह्रो बनाएको छ ।

र, हाम्रो कुल जनसंख्याको ८ प्रतिशतभन्दा बढी संख्यामा उनीहरू नै छन् । र, सबै राजधानीमै छन् । सरकारी जागिर खाएकाहरू अवकासपछि चार आना जग्गा किनेर काठमाडौंमा घर बनाएर बसेका छन् । सरकारी जागिरमै छन् तर, ५० नाघेका छन् भने उनीहरू पनि यतै छन् । छोराछोरी कमाउने छन् भने आबामा छोरानातिसँग बस्छु भनेर यतै आएका छन् । त्यसकारण काठमाडौं उपत्यकामा बृद्ध दीर्घरोगीको संख्या धेरै छ । तर संक्रमणको बक्रमा अझै धेरै उछालिएको छैन ।

समुदायमा संक्रमण भएर बृद्ध र दीर्घरोगीहरु सिकिस्त हुन थालेपछि अझै चापमा पर्नेवाला छौं । अस्पतालको चाप घटाउन बृद्धबृद्धा दीर्घरोगीलाई घरमा व्यवस्थापन गरौं, आफैंले काम गर्नुपर्ने दीर्घरोगी तथा बृद्धबृद्धालाई भने राहत लिऊँ ।