प्रदेश १ मा ४२ संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 4
    Shares

झापा, भदाै २२
प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)का कारण गएको २४ घण्टामा ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार आइतबार मोरङका दुई पुरुष र झापाकी एक महिलाको मृत्यु भएको हो।

मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत वडा नम्बर ४ का ५२ वर्षीय पुरुष, कोशी अस्पतालमा महानगरपालिका–२ का ७० वर्षीय पुरुष र झापा कनकाई नगरपालिकाकी ४५ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठौरका अनुसार ५२ वर्षीय पुरुषको आइतबार अपराह्न साढे ३ बजे मृत्यु भएको हो। मधुमेह र उच्च रक्तचापबाट पीडित पुरुषको छातीमा समेत समस्या रहेको सिंहको भनाइ छ।

त्यसैगरि, धरानस्थित बीपी प्रतिष्ठानमा बिहान पौने एघार बजे झापा कनकाई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको थियो। प्रतिष्ठानका अनुसार महिलामा एक सातादेखि कब्जियत, ज्वरो, श्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो।

यस्तै शनिबार राति उपचारका क्रममा ७० वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। शनिबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताएका मेसु दासले विरामीको मृत्युपछि स्वाब संकलन गरेर पीसीआर गरेको र आइतबार विहान पोजिटिभ रिपाेर्ट आएको बताए।

यससँगै प्रदेश–१ मा हालसम्म ११ महिला र ३१ पुरुष गरी कुल ४२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जसमा प्रदेश–१ बाट ३० र अन्य स्थानबाट १२ जना रहेका छन्।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ३ हजार ९ सय ४७ जनामा संक्रमण पुष्टि भइसकेकाे छ। जसमा १ हजार ५० महिला र २ हजार ८ सय ९७ पुरुष रहेकाछन्।

मन्त्रालयले १ हजार ८ सय १९ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ। जसमा ३ सय ७२ महिला र १ हजार ४ सय ४७ जना पुरुष रहेका छन्।