प्रचण्डले भने- मेराे घरबेटीसँग गोरु बेचेको पनि साइनो छैन

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै २२
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका आफ्नाे घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरु बेचेको साइनो पनि नरहेको बताएका छन्। जनता टेलिभिजनसँग कुराकानी गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन्। 

‘पटकपटक यो मेरो घरबेटी भन्ने कुरा आएको छ। अब यो घरबेटीले कहाँ ठेक्का लिन्छन्? के गर्छन्? मलाई केही थाहा पनि छैन,’ उनले भने, ‘यी ठेक्का भनेका त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् ती। मसँग कुनै गोरु बेचेको साइनो पनि छैन।’

मल प्रकरणमा पनि आफ्नो चासो रहेको उनले बताए। यसका साथै दोषी देखिए कारबाही गर्न पनि उनले आग्रह गरे। ‘यो मल प्रकरण के भएको हो भनेर हिजो मात्रै पनि मैले कृषिमन्त्रीसँग पनि कुरा गरेँ। कसैले बदमासी गरेको छ भने कारबाही गर्दा हुन्छ। मेरो त्यसमा कुनै आपत्ति छैन।’

बाटाहरूका ठेक्का शैलुङले लिएको तर त्यसमा काम नगरे आफूलाई जोड्ने गरिएको भन्दै उनले दुखेसो व्यक्त गरे। यसका साथै आफू उनको घरमा डेरा बस्न जानुभन्दा अघिदेखि नै लिएको तर आफूलाई जबर्जस्ती जोड्ने गरिएको उनले बताए। 

शैलुङ कन्सट्रक्सन र शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका अधिकारी र उनले लिने ठेक्कापट्टामा आफ्नो कुनै संलग्नता नरहेको दाबी अध्यक्ष दाहालले गरे। अधिकारीकै घरमा प्रचण्ड परिवार बस्दै आएको छ। 

करिब ८० टन रासायनियक मल आयात गर्ने ठेक्का लिएको शैलुङले समयमा नै मल आयात गर्न नसकेको भन्दै आइतबार मात्र ३० टन मलको ठेक्का सम्झौता भने कृषि मन्त्रालयले खारेज गरेको छ। मल आयातको कुनै पनि अनुभव नभएको शैलुङलाई ठेक्का दिइएपछि उनले शक्तिकेन्द्रको आडमा नै टेन्डर पारेको भन्दै प्रचण्डका साथै अधिकारीको पनि आलोचना हुँदै आएको छ।