शिवसताक्षीमा एक युवा मृत फेला

सेयर गर्नुहोस्
  • 2
    Shares

झापा, भदौ १७: झापाको शिवसताक्षीका एक जना युवा मृत अवस्थामा फेला परेका छन् । शिवसताक्षी–११ का गोमनसिंह मगर मृत फेला परेका हुन् । उनी हिजोदेखि हराइरहेका थिए ।

सताक्षीधाम जाने सडकमा घाँटी रेटेर फालिएको अवस्थामा मगरको शव फेला परेको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले घाँटी काटिएको अवस्थामा मगरको शव फेला परेको बताए ।

२८ बर्षीय मगरको घाँटीसँगै शरिरका विभिन्न भागमा घाउ चोट पनि छ । रतुवामाइ वृक्षारोपण आयोजनाका कर्मचारीले सडकमा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले मगरको हत्या भएको प्रारम्भिक अनुमान गरेको छ ।

नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरू गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेदेखि करिब १ किलोमिटर उत्तर सताक्षीधाम जाने बाटोमा छ।

घटनास्थलदेखि १०० मिटर उत्तर दूरीमा एउटा मोटरसाइकल पनि फेला परेको छ। मोटरसाइकलमा ल्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

स्थानीयवासीका अनुसार घटनास्थल नजिक फेला परेको मोटरसाइकल करिब १ महिनादेखि उनले नै चलाउँदै आएका थिए।