अब सेमेस्टर परीक्षा घरबाटै

सेयर गर्नुहोस्

विराटनगर, भदाै १६
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ ।

सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

के हो टाइम–बाउन्ड होम एक्जाम ?

टाइम–बाउन्ड होम एक्जाम परीक्षार्थीले घरमै बसेर दिने परीक्षा हो । विश्वविद्यायले परीक्षा सुरु हुनुभन्दा पहिला ३० मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ ।

क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ ।

निर्धारित समयमा परीक्षा दिएर उत्तरपुस्तिकामा परीक्षार्थीलाई फेरी केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखलाई पठाउँछ । केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखले इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ ।

परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला यसबारे विस्तृत जानकारी सहितको निर्देशिका र परीक्षा कार्यक्रम यथाशीघ्र प्रकाशित गरिने बताउँछन् ।

मध्यपश्चिमाञ्चलमा अनलाइन/अफलाइन परीक्षा

मध्यपश्चिमाञ्जल विश्वविद्यालयले भने मध्यवर्ती परीक्षा अफलाइन र अनलाइन दुबै माध्यमबाट सञ्चालन गरेको छ ।

विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी विद्युत र इन्टरनेटको पहुँचमा नभएका परीक्षार्थीका लागि अफलाइन परीक्षा दिने व्यवस्था मिलाइएको बताउँछन् । उनका अनुसार अफलाइन परीक्षा दिने विद्यार्थीहरूले प्रश्नपत्र पाएको भोलिपल्टसम्म लेखेर बुझाउन सक्छन् ।

गत साउन १६ गते बसेको मध्यमाञ्चल विश्वविद्यालय पदाधिकारी बैठकले वस्तुगत, विषयगत र ‘प्रोजेक्ट बेस्ड एसाइनमेन्ट’को आधारमा प्रश्नपत्र तयार पार्ने निर्णय गरेको थियो ।

परीक्षार्थीले विश्लेषणात्मक र आलोचनात्मक ढंगले जवाफ दिनुपर्ने गरी प्रश्नपत्र बनाइएको परीक्षा व्यवस्थापन प्रमुख डा. सुवेदी बताउँछन् । मध्यवर्ती परीक्षामा अनुपस्थित विद्यार्थी सेमेस्टरको अन्तिम परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

मध्यमाञ्चल विश्वविद्यालयद्वारा सार्वजनिक तालिका अनुसार भदौ १९ गतेसम्म मध्यवर्ती परीक्षा सम्पन्न भईसक्नेछ ।

त्रिविमा डिन कार्यालयलाई जिम्मा

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले सेमेष्टर परीक्षाको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

तत्काल परीक्षा सञ्चालन हुन नसक्ने भएपछि डिनहरूले अर्को सेमेस्टरको अनलाइन परीक्षा सुरु गरेका छन् ।

व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले मातहतका सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र निर्देशकहरूलाई यसअघि नै परिपत्र गरिसकेका छन् । परिपत्रमा स्थिति सहज भएपछि परीक्षा सञ्चालन गर्ने गरी अनलाइन कक्षा सञ्चालन गरिने उल्लेख छ ।

वार्षिक परीक्षा भने दशैंपछि मात्रै लिने निर्णय भएको त्रिविका परीक्षा नियन्त्रक जोशी बताउँछन् ।