वीपीमा सिराहाका संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 6
    Shares

धरान भदौ १६: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने प्रदेश २ को मिचैया ६, सिरहाका ६५ बर्षीय वृद्ध हुन् । उनको सोमबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतक भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको बिराट मेडिकल कलेजबाट रिफर भएका उनी वीपी प्रतिष्ठानमा भदौ १० गते साँझ ७ बजे भर्ना भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्ने भएको साथै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि उनी बिराटबाट रिफर भएको बताइएको छ । शरीरको महत्वपुर्ण अंगहरु निष्क्रिय भएको अवस्थामा उनी प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानमा पनि उनको २ पटक डाइलाइसिस गर्नुपरेको प्रवक्ता डा.सापकोटाले जानकारी दिएका छन् । मृतक पहिलादेखि नै मधुमेह र उच्च रक्तचापको दीर्घ रोगी पनि थिए । मृतकको शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।