भारतमा ७ सेप्टेम्बरदेखि मेट्रो रेल सेवा पुनः सञ्चालनमा आउने

सेयर गर्नुहोस्

एजेन्सीः भारत सरकारले सेप्टेम्बर महिनादेखि विभिन्न सेवा पुनः सञ्चालन गर्न निर्देशिका जारी गरेको छ। उक्त निर्देशिकाअनुसार राज्य सरकारहरुले ७ सेप्टेम्बरदेखि मेट्रो रेल सेवा सञ्चालन गर्न सक्नेछन्। 

त्यसका लागि सहरी विकास मन्त्रालयले अलग्गै स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) जारी गर्नेछ । भारतमा दिल्ली, मुम्बई, कोलकाता, लखनऊ, बेंगलुरु, जयपुर र चेन्नईमा मेट्रो सेवा सन्चालनमा छन्। कोरोना भाइरस संक्रमण सुरु भएपछि गत २२ मार्चदेखि भारतका मेट्रो सेवा बन्द थिए। 

यस्तै, २१ सेप्टेम्बरदेखि सामाजिक, राजनीतिक, मनोरञ्जन तथा खेलसँग सम्बन्धित समारोह गर्ने अनुमति हुनेछ । तर यसका लागि १ सय जनाभन्दा बढी मानिस जम्मा हुन पाउनेछैनन्। भेला हुनेले अनिवार्य मास्क लगाउनुपर्नेछ। 

स्कुल तथा कलेज ३० सेप्टेम्बरसम्म बन्द रहनेछन्। तर ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरु परिवारको सहमतिमा शिक्षक भेट्न स्कुल जान सक्नेछन्।

यद्यपि नियमित रेल सेवा, अन्तर्राष्ट्रिय उडान, मल्टिप्लेक्स सिनेमा हल, स्वीमिङ पुलहरु भने बन्द नै रहनेछन् भने प्रभावित क्षेत्रमा लकडाउन जारी रहने बताइएको छ।