वीपीमा एक संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 8
    Shares

धरान, भदौ १३: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश २ सिरहा जिल्लाको भदैया ६ का ८४ बर्षीय वृद्ध रहेका छन् । उनको हिजो राती ११ बजेर २० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए भने उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई मृगौलाको समस्या भएर डाइलाइसिस पनि गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

उनलाई अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले वीपी प्रतिष्ठान ल्याएका थिए । इर्मजेन्सीबाट मेडिसिन वार्डमा सारिएको र त्यहाँ रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या १६ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।