सबिता बिमली
‘मानिसका चुनौति भगवानले दिएका अवसर हुन् ।’ यसमा गौर गर्दा लाग्छ- कुरा सत्य हो । त्यस्तै विद्यार्थीका, छात्रछात्राका चुनौतिहरू पनि गुरुका लागि अवसर हुन् रे आफूलाई गुरु प्रमाणित गर्ने । पक्कै पनि विद्यार्थीका समस्याहरूलाई शिक्षकले यदि पूरा गर्न सकेन भने त्यो असल शिक्षक हुन सक्दैन । विद्यार्थीका समस्याको समाधान गरेरै ऊ शिक्षक बन्छ ।
यही भएर ईश्वर र गुरु समान देखा पर्छन् । ईश्वर र गुरुबीचको सन्तुलनलाई देखेर, यही समस्थानलाई हेरेर हाम्रो सभ्यता भन्छ- गुर्रुः देवो भवः । अर्थात गुरु देवता हो, देवता गुरु हो ।
माथिकाे परिभाषामा अटाउने गुरुहरू आजभोलि पाउन निकै मुस्किल छ । तर, गौरादह क्याम्पसको परिसरभित्र थुप्रै गुरुहरूको माझमा यस्ता केही गुरु मैले पाएकी छु, जसको अघि उभिएर निर्धक्क गुर्रुः देवो भवः भन्न सकियोस् ।
मान्छेले अभावमै मात्र सम्झिन्छ त्यस कुराको महत्ता । त्यसको आवश्यकताको वास्तविक महसुस उसले अभावमा गर्दछ । म पनि मान्छे । त्यसैले आज गुरुको अभावमा, गुरुको सम्झनामा, आवश्यकतामा गुरुको मलाई पनि आदरणीय गुरु हेमचन्द्र रिमालको महत्ता महसुस भइरहेको छ ।
मलाई लाग्छ, मैले गरेको यो महसुसले हेमचन्द्र सरका थुप्रै आफन्त, मित्र र शिष्यहरूसँग समानता राख्दछ । हेमचन्द्र सर एउटा यस्तो गुरु हुनुहुन्थ्यो, जससँग विद्यार्थीको हर एक समस्या र प्रश्नको समाधान र जवाफ थियो । त्यसैले हेमचन्द्र रिमाल एक ‘पर्फेक्ट’ गुरुको नाम हो ।
म स्कुलमै थिएँ । कल्पना (दिदी) क्याम्पस जान थालेकी थिई । ऊ दिनैपिच्छे हेमचन्द्र सरका कुरा गर्थी । ती कुरा गर्दैगर्दा कत्ति रमाइरहेकी हुन्थी । आज लगभग डेढ दशकपछि पनि ऊ त्यस्तै रमाउँदै सरलाई सम्झिन्छे ।
गौरादह क्याम्पस पढ्न गएको पहिलो दिनको पहिलो घण्टीमा नैतिक दृष्टान्त पढाउने प्राध्यापकको नाम कसैले भन्यो- हेमचन्द्र रिमाल । अनि लाग्यो कल्पनाको कुरो झुटो रहेनछ । हलुका श्याम वर्णको मुहारमा सधैँ अबिर र केशरीको टीका लगाएर आधा निधार छोपिने गरी ढाका टोपी लगाउने गुरु कालोपाटीमा लेख्दा प्रायः भन्नुहुन्थ्यो-‘होचो मोटो ज्यान छेकियो भने त निकै छेकिन्छ है ।’ अनि एकछिन कोठाभरि हाँसो गुन्जिन्थ्यो ।
सर अलिक मोटो हुनुहुन्थ्यो । त्यही मोटोपनले अलि होचो देखाउँथ्यो वहाँलाई । वहाँको कक्षामा कहिल्यै कसैलाई अल्छी लाग्दैनथ्यो । कोही भाग्दैनथ्यो । असाध्य रमाइलो हुन्थ्यो कक्षा । त्यही भएर नै वहाँका कक्षा सबैका लागि आकर्षक बन्थे । वहाँका कक्षामा हामी मात्रै किताब पढ्दैनथ्यौं जीवनको बासना पढ्थ्यौं । अनुभव सुन्थ्यौं । खुलेर हाँस्ने र हँसाउने सरका कक्षामा बस्ने जो कोहीले वहाँलाई बिर्सनै सक्दैन । पढाउने कला मात्रै होइन, हौसला र स्नेहले आफ्ना विद्यार्थीलाई सधैंभरि उत्प्रेरित गर्ने कलाले पनि हेमचन्द्र सर भरिनुभएको थियो । एउटा उज्यालो प्रेरणापुञ्जको अर्को नाम हेमचन्द्र रिमाल थियो ।
बैगुन्धुराबाट क्याम्पससम्मको लामो र कच्ची बाटोमा पनि सर कहिल्यै ढिलो हुनुभएन । लामो समयसम्म वहाँले साइकलमा नै यो लामो दूरी नाप्नुभयो । पछिल्लो केही समयदेखि मात्रै वहाँको बाहनका रूपमा मोटरसाइकल आइपुगेको थियो । जहिल्यै पनि पहिलो घण्टीमा यथासमयमा सर आइपुग्नुहुन्थ्यो । सरस्वती पूजाको अवसरमा सामुदायिक पुस्तकालयले आयोजना गरेको नेपाली गीत अन्ताक्षरी प्रतियोगितामा गंगा दिदी, अनिता र मसहितको टोली प्रथम भएको थियो । भोलिपल्ट सरले कक्षामा ‘ए यिनीहरूलाई त तीन मुरी तीन पाथी गीत आउँदो रहेछ’ भनी हामीलाई हौस्याउनुभएको थियो ।
दोस्रो वर्षमा क्याम्पसमा एउटा सूचना सुनाइयो । मानवअधिकार र शान्ति विषयमा जिल्लाव्यापी निबन्ध प्रतियोगितामा प्रमाणपत्र तथा प्लस टु तहका विद्यार्थीबाट निबन्ध दिनु भन्ने व्यहोराको । त्यसबाट एक छात्रा र एक छात्रको निबन्ध प्रतिष्पर्धाका लागि पठाइने भनियो । मैले लेखें । मलाई पढाइरहेका गुरु समक्ष निबन्ध लिएर म पुगें । वहाँले हेर्नुभएन । म फेरि हेमचन्द्र सरकै अगाडि उभिएँ । तलमाथि परेका केही हरफलाई मिलाएर मैले निबन्ध बुझाएँ । केही दिनमा आयोजकले दोस्रो भएको खबर क्याम्पसमै गरेका थिए । बिर्तामोड गएर कृष्ण पहाडीको हातबाट मैले पुरस्कार थापेकी थिएँ ।
क्याम्पस हिँडेर जानुपर्ने । ग्राभेल कच्ची सडक । क्याम्पस सकेर घर फर्किंदा चर्को घाम घिच्चुकमै लाग्ने । पानी भनेपछि एक ग्लास पनि राम्ररी नखाने मेरा पाइताला राम्रैसँग पोल्थे त्यतिबेला । अनि मलाई बिहानै उठेर क्याम्पस जाने जाँगर हुँदैनथ्यो । घरमा एउटा मात्रै साइकल थियो । जुन बुबाको सारथी थियो । दुईजना थियौं क्याम्पस जाने । हामीभन्दा टाढा घर हुने साथीहरू पनि हिडेरै जान्थे । अनि त हाम्रो भागमा साइकल आउने कुरै थिएन । हिँडेर जाने एउटा गतिलो समूह नै थियो । जो स्कुले तथा गाउँले साथीहरूले भरिएको थियो । अँध्यारैमा साथीहरू बोलाउन आइपुग्थे ।
दश कक्षामा पढ्दै गर्दा नै बिजुली आइसकेको थियो । बिजुलीभन्दा धेरै लोडसेडिङ चाहिँ आइरहन्थ्यो । लोडसेडिङ हुँदा फेरि उही लालटिन र कुपीमै फर्किनुपर्थ्यो । एकदिन त अँध्यारोमै अलगअलग रंगका चप्पल लगाएर क्याम्पस पुगेको सम्झिन्छु । पूरै कक्षाभरि बाहिर ननिस्की घर फर्किंदा सबैका बीचमा घेरिएर फर्किएकी थिएँ । घरबाट बढीमा ४५ मिनेटको दूरीमा रहेको क्याम्पस म मुस्किलले छ महिना गएँ होला दुई वर्षमा । क्याम्पस नगई घरमै बसिरहँदा पनि मैले सम्झिने केही कक्षामा हेमचन्द्र सर, भोजराज सर, रमेश सरका कक्षा हुन्थे ।
क्याम्पसमा महिला शिक्षकको रहर रहर मात्रै भयो । मैले ६ कक्षादेखि नै महिलालाई गुरुका रूपमा पाइनँ । जनसंख्या पढाउन म्याम आउने रे भन्ने हल्ला क्याम्पसमा चलेको थियो । ‘केटीलाई त के टिक्न दिइन्थ्यो’ – मुसुमुसु हाँस्दै एउटा साथीले भनेको सम्झिन्छु । कक्षाकोठामा विद्यार्थी अनि सहकर्मीले गर्ने त्यस किसिमका अपमान सहन, सहेर अगाडि बढ्न र स्थापित हुन् ती महिला प्राध्यापकलाई कति गाह्रो हुन्थ्यो होला ? तर, कोही महिलाको आगमन भएन पढाउनका लागि । मेरा साथीको जस्तै हाँसो, विचार र आवाजलाई जितेर आज आफूलाई प्रमाणित गर्ने जो कोही महिलाप्रति म सदैव नतमस्तक बन्छु ।
पातलो क्याम्पस जाने म अंग्रेजी समूहबाट नेपाली समूहमा आइसकेकी थिएँ । ऐच्छिक नेपालीको कविता पनि हेमचन्द्र सरकै भागमा थियो । मलाई भूपी शेरचनको मैन बत्तीको शिखा शीर्षकको कविता क्याम्पस गएरै पढ्न मन थियो र यो पढ्ने समयमा म गएकी थिएँ । घरीघरी मात्रै आउने यो केटीले राम्रो पढ्दिन क्यारे ! सायद सरलाई यस्तै लाग्यो । त्यसैले त चासोका साथ मलाई नियमित नहुनुको कारण सोध्नुभएको थियो । मेरो पढाइप्रति चिन्ता प्रकट गर्नुभएको थियो । तर, मेरो अनियमितता सुधारिएन । म नियमित भइनँ ।
साथीहरूका नोट ल्याएर सार्ने काम परीक्षाको रुटिङ आइसके पनि पछिसम्म चलिरहन्थ्यो । यो काम चाहिँ अहिलेसम्म नै नियमित छ । सर, दोस्रो वर्षमा हाम्रो कक्षामा पर्नुभएन । स्नातकको पहिलो वर्षमा पनि वहाँको विद्यार्थी हुन पाइएन र अब फेरि यो सिलसिला कहिल्यै दोहोरिने पनि छैन ।
हेमचन्द्र सरसँगको यो स्वाभाविक सम्बन्धमा अझ अर्को प्रगाढता अञ्जनाले थपेकी थिई । अब सर हाम्रा लागि एक प्राध्यापकमात्र नभएर हाम्री प्रिय सखी अञ्जनाका पिता पनि हुनुहुन्थ्यो । अञ्जनालाई सरकै ‘लेडिज फोटोकपी’ भने हुन्छ । ठ्याक्कै उस्तै । बाबुका पछाडि बसेर आउँथी ऊ गौरादह क्याम्पसमा स्नातक पढ्न । तर उसको यो दैनिकी धेरै दिन लम्बिन सकेन । वि.सं. ०५९ को अन्तिम महिना चैत्रको २२ गते बैगुन्धुरा स्कुल र गौरादह क्याम्पसलाई मात्र हैन सारा परिवार र आफन्तलाई सुनसान र शोकाकुल बनाउँदै सरको महाप्रस्थान भयो । त्यस बेलासम्ममा मैले पनि गौरादह क्याम्पस छोडिसकेकी थिएँ ।
मेची बहुमुखी क्याम्पस भद्रपुरमा भर्ना गरेर र्फकंदै गर्दा मैले डिपु चोकमा सुनें कि अञ्जनाले पिता गुमाई अनि हामी सारा विद्यार्थीले एक उत्कृष्ट गुरु । म अवाक् भएँ ।
अञ्जना धेरै रोई । ऊ बाबुकी प्रिय थिई । एक्ली छोरी भएर मात्रै हैन बाबुछोरीको सम्बन्ध साथीको जस्तै थियो । सरको मृत्युको सातौं दिनमा हामी पुग्दा अञ्जनाको बोलीमा ज्यान थिएन । उसकी सानिमाले भन्नुभयो कि उसले आजसम्म केही खाएकी छैन । ऊ सुनाउन थाली सुकिसकेको स्वरमा पितृ वियोेगको कहानी ।
हामी सबैलाई आँखाबाट आँसु छल्न कति गाह्रो भएको थियो । चैत्रको मध्याहृनमा गरुड पुराण सुन्न बसेका आफन्त, छिमेकी र किरियापुत्रीहरू । सानो भाइ, आमा र दाजु… कहिलेकाहीं दृश्य पनि दुःखिरहने घाउ बनिदिन्छन् ।सर ! अञ्जना अहिले गुरुआमा भएकी छे । शिक्षकका रूपमा उसमा तपाईंकै विम्व देख्ने को-को होलान् ?
थुप्रै दिनपछि अञ्जना क्याम्पस आई । संयोग नै थियो, त्यो दिन म पनि गएकी थिएँ । बुबाको अभावमा दुःखिरहेकी अञ्जनाले बाटोभरि बाबु नै सम्झि होली । अनि कक्षा कोठामा त झन् उसलाई पिताको सम्झनाले झनै व्यग्र बनायो होला । पहिलो घण्टीमा हरि सर अंग्रेजी पढाउँदै हुनुहुन्थ्यो । ऊ आई । छेउमा गएर बोल्ने साहस हामी कसैसित भएन । ऊ पनि चुपचाप बसी । सरले पढाउँदै गर्दा ऊ रुन थाली । हरि सरले घण्टी नलाग्दै कक्षा छाड्नुभयो । हामी पनि एक छेउतिर लागेर आँखा पुछ्न थाल्यौं ।
वि.सं. ०१३ श्रावण १५ गते आमा रमादेवी तथा बुबा मित्रलाल रिमालका कान्छो छोराका रूपमा धनकुटाको चानुवामा जन्मिनु भएका हेमचन्द्र रिमालको प्रारम्भिक शिक्षा धनकुटामै भयो । बिराटनगरबाट मानविकी तथा शिक्षाशास्त्र संकायबाट नेपालीमा स्नात्तकोत्तर वहाँले वि.सं. ०४६ पछि स्थापित गौरादह बहुमुखी क्याम्पसमा वि.सं. २०४७ बाट प्राध्यापन प्रारम्भ गर्नुभयोे । वहाँका करिब अढाइ दशकका वसन्तहरू गुरु बनेरै बिते ।
०३२ मा खोटाङका मोतीप्रसाद र मीना पोखरेलकी माइली छोरी मीनासँग वहाँको विवाह भयो । विवाहको २७ वर्षमा एक्लै हुनुभएकी मीना गुरुआमाले असाध्यै कुशलतापूर्वक गृहस्थी सम्हाल्नुभयो ।
सर ! तपाईं त जानुभयो, आफ्नो कान्छो छोरालाई आफूभन्दा अघि लागेको चुपचाप हेर्न विवश आमाको पनि त्यसको चार वर्षपछि महाप्रस्थान भयो । अहिले त माथि आमासँग भेट भएको होला है सर !
तपाईंले छोडेर जाँदा त्यतिबेला निरज १० वर्षको मात्रै त थियो नि ! अहिले त उसले एमबीए सक्न लाग्यो । र, ऊ उडेर दीपक दाइ भएकै ठाउँमा जान्छु भन्दैछ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट फिजिक्समा दीपक दाइले विद्यावारिधि सक्नुभयो ।
सर ! तपाईं एउटी नातिनी र एक नातिको हजुरबुबा हुनुभएको छ । मीना गुरुआमा दुई-चारचोटि अमेरिका ओहोर-दोहोर गरिरहँदा म तपाईंका सपनाले उडान भरेको महसुस गर्छु । अञ्जना पनि आफ्नो सुन्दर गृहस्थीमा खुसी छे । यी सबै देखेर तपाईं कत्ति रमाउनुहुन्थ्यो होला ?
सर ! अञ्जना अहिले गुरुआमा भएकी छे । शिक्षकका रूपमा उसमा तपाईंकै विम्व देख्ने को-को होलान् ? म पनि पढाउँछु । दश वर्ष भएछ पढाउन थालेको पनि । यो दशकले शिक्षकका रूपमा लगभग सबै तहमा उभ्यायो । कलिला अनुहारदेखि हजुरआमासम्मकी गुरुआमा बनायो । प्रशस्त आत्मसन्तुष्टि दियो । विद्यार्थीका रूपमा छोराछोरीजस्ता केटाकेटी, मित्र, दिदीबहिनी दियो ।
मेरो मन मस्तिष्कमा बसेका केही गुरु विम्वमध्ये एउटा तपाईंको पनि हो । सर ! म सधैं तपाईंजस्तै हुने रहर गर्छु । लोभ गर्छु । यो रहर मात्रै लोभ बनिरहेको छ कि !! कहिले त मलाई डर लाग्छ । र, लाग्छ कि के साँच्चै म योग्य शिक्षक हुँ त !!??
समयसँगै मानिसका मनका, शरीरका घाउमा खाटा बस्दै जाने रहेछन् । बिस्तारै मानिस पीडाबाट बाहिर पनि निस्कने रहेछ । समय बितिरहेछ आफ्नै मतापमा । सर ! समय बित्दैमा कहाँ पखालिँदो रहेछ र सम्झना !! (अनलाइनखबरबाट)