महाेत्तरीका संक्रमितकाे शव ३ दिनदेखि अस्पतालमै

सेयर गर्नुहोस्

विराटनगर, भदाै १२
कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ३ दिनदेखि अस्पतालमै राखिएको छ ।

मंगलबार राति विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएका महोत्तरीका ६१ वर्षका पुरुषको आफन्त सम्पर्कविहीन छन् भने शव व्यवस्थापनमा स्थानीय प्रशासन पनि मौन बसेको छ ।

अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार मृतकको कुरुवाको रुपमा छोरा अस्पताल आएका थिए । तर मृत्युपछि छोरा पनि सम्पर्कविहीन भएका छन् । बुधबारदेखि शव व्यवस्थापनमा पहल गरे पनि परिवारका सदस्य सम्पर्कविहीन भएकाले कठिन भएको उनको भनाइ छ ।

ती पुरुष साउन ३१ गते अस्पताल भर्ना भएका थिए । भदौ ३ गते कोरोना संक्रमण परीक्षणका लागि स्वाबको नमुना पठाइएकामा ७ गते कोरोना रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि संक्रमितलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गर्दा गत मंगलबार भदौ ९ गते राति करिब ११ बजे उनको मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन स्थानीय प्रशासनले गर्दै आएको छ । तर मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला शव व्यवस्थापनका लागि समन्वय भइरहेको बताउँछन् । मृतक पुरुष महोत्तरीको भएकाले महोत्तरी प्रशासनसँग समन्वय गरिरहेको उनको भनाइ छ ।