बिर्तामाेडका सबै अटाे चालक क्वारेन्टाइनमा

सेयर गर्नुहोस्

विर्तामाेड, भदाै १२
बिर्तामोड नगरपालिकाले नगरभित्र सञ्चालित अटोरिक्सालाई होम क्वारेन्टाइनमा राखेको छ ।

अटो सञ्चालनमा आउनाले भिड साथै कोरोना जोखिम बढेको भन्दै नगरले अटोरिक्सा चालकको पीसीआर परीक्षण गराएर मात्र सञ्चालन गर्न दिने जनाएको छ ।

“अहिले सबै अटोचालक होम क्वारेन्टाइनमा हुनुहुन्छ”, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले भने, “हामीले बिहीबारबाट नगरभित्र कुनै पनि अटो सञ्चालनमा आउन दिएका छैनौँ, १६ गतेदेखि उहाँहरुको पीसीआर परीक्षण हुन्छ, रिपोर्ट नेगेटिभ आएपछि मात्र अटो सञ्चालनमा ल्याइने छ ।”

अब अटोचालकले अनिवार्य पीसीआर नेगेटिभको रिपोर्ट देखाएर मात्र यात्रु ओसारपसार गर्नुपर्ने शिवाकोटीको भनाई छ । बिरामी बोकेर नगरभन्दा बाहिरबाट आएका अटोरिक्साले नगर प्रवेश गर्ने ठाउँसम्म मात्र बिरामी ल्याउन पाउने छन् ।

त्यस स्थानबाट नगरपालिकाको एम्बुलेन्सले निःशुल्क बिरामी अस्पतालसम्म लाने नगरप्रमुख शिवाकोटीले जानकारी दिए ।

नगरको आग्रहलाई बेवास्ता गरी अटोचलाउने चालक र अटोरिक्सा चढ्ने यात्रुलाई गरेर १ हजार रुपैयाँ जरिवाना गरिने झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । बुधबार साँझसम्म १५ वटा अटोरिक्सालाई कारबाही गरेको जवेगु बताउँछन् ।