झापा, भदाै १२
गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
बुधबार जिल्लाको झापा गाउँपालिका ३ का कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।
गोरु कटेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सदरमुकाम लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको दाबी छ ।
यस्तै सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमका परिवारलाई क्षतिपूर्तिबापत दस लाख दिने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा केन्द्र र प्रदेश सरकारसँग पहल गरेर क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो । सर्वदलीय बैठकले पीडित परिवारलाई दस लाख राहत उपलब्ध गराउने सहमति भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
त्यस्तै, तत्कालका लागि गाउँपालिकाले किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । आलमका पत्नी, दुई छोरी र एक छोरा छन् ।बाछो काटेको अभियोगमा झापा गाउँपालिका–३ का ताजबुल हक र अब्दुल सलामलाई पक्राउ गरेको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
प्रहरीका अनुसार प्रहरीविरुद्ध करिब तीन सयजना भेला भएका थिए । उनीहरूले सशस्त्र प्रहरीको गाडीमा समेत तोडफोड गरेका थिए । स्थानीयको आक्रमणमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी सामान्य घाइते भएका छन् भने सशस्त्र प्रहरीका जवान राज खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
हकको घरको ग्वालीमा बाछो काटेर मासु भाग लगाउँदै गर्दा प्रहरी पुगेको थियो । स्थानीय एकजना मुस्लिम युवाका अनुसार हकको घर र अन्यको घरमा पनि यसअघि बाछा र गोरु काटेर खाने गरिएको थियो ।