विराटनगर, भदाै १०
मोरङका दक्षिण सिमावर्ती भारतसँग सिमा जोडिएका स्थानीय तहहरुले संयुक्त लकडाउन गर्ने भएका छन् ।
बुधबार रङ्गेलीमा बसेको सिमावर्ती क्षेत्रका पालिकाका प्रमुख र प्रशासकीय अधिकृतहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा रतुवामाई, सुनबर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।
बैठकले यस अघि जारी गरेको भाद्र १० गते सम्मको लाकडाउनलाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको छ । अब थप गरिएको लकडाउनमा भने बिहान ६ वजे देखि १२ बजे सम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै व्यापार व्यवसाय संचालन गर्न, बैंक तथा वित्तीय संस्थाहरु खोल्न पाउने छन् ।
त्यस्तै बैठकले कोरोना संक्रमितहरुलाई अस्पतालमा प्रभावकारी ढंगले उपचार नगरेको, विरामीहरुको वेवास्था गरेको र कोरोना संक्रमणको सन्दर्भमा स्थानीय तहहरुसंग समन्वयमा काम नगरेको प्रति प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।