काठमाडौं- विश्व फुटबलमा अहिले चर्चाको केन्द्रमा छ- लियोनल मेस्सीले बार्सिलोना छाड्दै छन्। मंगलबार साझँदेखि सतहमा आएको हल्ला रातिसम्म खबर बनेर व्याप्त भइसकेको थियो। जुन अहिले सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा समेत छ।
हल्ला र केही खबरहरुमा आइरहेका अनेकौँ विषयले अहिलेसम्म आधिकारिकता भने पाएको छैन। न त मेस्सीको भनाइ नै बाहिर आएको छ, न त क्लबले नै केही बताएको छ। विश्वसनीय सञ्चार माध्यममा समेत खबर आइरहेकाले मेस्सीले क्लब छाड्न चाहेको पक्का भए पनि अब विषयको विकास कसरी हुन्छ यकिन छैन।
बुधबार बार्सिलोनाका नयाँ खेलाडी फ्रान्सिस्को ट्रिन्काओको सार्वजनिक प्रस्तुति गर्ने भएकाले त्यहाँ बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले मेस्सीबारे बोल्ने आश गरिएको छ। जहाँ पत्रकारहरुले बर्टामेउलाई प्रश्न सोध्ने अवसरसमेत हुनेछ।
यो सिजनको अन्त्य हुनु अघिदेखि नै नयाँ सम्झौताका लागि आनाकानी गरिरहेका मेस्सीले क्लब छाड्ने हल्ला पहिलोपटक चलेको भने होइन। तर यसपटक यसअघि जस्तो हल्ला हल्लामा मात्र सीमित छैन।
मेस्सीले बुरोफ्याक्स मार्फत आफूले क्लब छाड्न चाहेको र त्यसका लागि वातावरण बनाउन बार्सिलोना व्यवस्थापनलाई आग्रह गरेपछि घटनाक्रमको विकास भएको हो। अहिले मेस्सीका बुबा जर्ज मेस्सीले समेत मेस्सीले क्लब छाड्न चाहेको नै बताएका छन्।
स्पेनमा व्यापारिक सरसल्लाहका लागि बुरोफ्याक्स विशेष प्रचलनमा छ जसको मान्यता अदालतमा समेत प्रमाणका रुपमा स्थापित हुन सक्छ। मेस्सीको आग्रहपछि बार्सिलोना ब्यबस्थापनको आकस्मिक बैठक बसेको थियो। जसमा केही पदाधिकारीले अध्यक्ष जोसेप मारिया बर्टामेउले राजीनामा दिनुपर्ने तर्क अघि सारेका थिए।
तर बर्टामेउको राजीनामा विषयमा कुनै निर्णय भएको छैन। जसका कारण मेस्सीलाई बार्सिलोनामा राख्न सकिने भनिएको अन्तिम आश क्लबसँग देखिँदैन। बार्सिलोना व्यवस्थापनको बैठकपछि बुरोफ्याक्स मार्फत नै मेस्सीलाई क्लब नछाड्न आग्रह गरिएको थियो।
बार्सिलोना व्यवस्थापनसँगको अविश्वास, बार्साको कमजोर अवस्थामा सुधार भएर पहिलेको जस्तै युरोपको अब्बल टिम बनाउन सक्नेमा दुविधा, खेलाडी किनबेचमा राम्रो काम गरेर प्रतिस्पर्धात्मक टिम बनाउन नसक्नु र टिमकै साथीहरुमाथि भइरहेको अपमानजनक व्यवहार जस्ता कारण मेस्सीले क्लब छाड्न चाहेको बताइएको छ।
नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा पनि मेस्सीले आफूले बार्सिलोनामा भविष्य नदेखेको बताएका थिए। कोम्यानसँग गरिएको गोप्य वार्ताका विषयसमेत बाहिरिएपछि उनी थप चिढिएका हुन्।
यो सिजन उपाधिविहीन रहेको बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८-२ ले हारेपछि मेस्सीले क्लब छाड्ने हल्लाहरु अझ बढिरहेका थिए। अहिले नयाँ प्रशिक्षकसँगको भेटमा पनि मेस्सी विश्वस्त हुन सकेनन् र बार्सिलोना व्यवस्थापनसँग चिसिएको उनको सम्बन्ध थप बिग्रिएको छ।
च्याम्पियन्स लिगको हारपछि बिदामा रहेका मेस्सी बिदा छोट्याएर गएको हप्ता प्रशिक्षकसँग भेट्न गएका थिए। अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन क्लबले प्रयास गरिरहेको छ। उनको ७०० मिलियन पाउण्डको महँगो रिलिज क्लज देखाएर व्यवस्थापनले तर्साइरहेको छ भने मेस्सीले आफ्नो सम्झौतामा उल्लेख भएको- ‘हरेक सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छाड्न सक्ने’ भन्ने बुँदालाई अघि सारिरहेका छन्।
क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको बताइरहेको छ। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीको तर्क छ। जसले यदि मेस्सीले क्लब छाडेर गएमा व्यवस्थापन अदालती प्रक्रियामा जाने देखिन्छ। जहाँ विश्व फुटबलको सबैभन्दा ठूलो ट्रान्सफर विवादमा अझ लम्बिने छ।
मेस्सीले सित्तैमा छाडेर जाँदा लाग्न सक्ने घाँटालाई मध्यनजर गर्दै उनको बिक्रीमा नै लाग्न पनि बार्सिलोना व्यवस्थापनमा छलफल भएको छ। अहिले युरोप ठूला भनिएका विभिन्न क्लब मेस्सी किन्ने होडमा लागिरहेका छन्। जसमा प्रमुख रुपमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, पिएसजी, युभेन्टस, इन्टर मिलान जस्ता क्लबको नाम आइरहेको छ।
मेस्सीले आफूले क्लब छाड्न चाहेको विषय पटक पटक अध्यक्ष बर्टामेउलाई जानकारी गराउँदै आइरहेका थिए। जसमा खराब सिजनपछि प्रशिक्षक क्विके सेटियन र टेक्निकल सेक्रेटरी इरिक अबिडाललाई बर्खास्त गरेको बार्सिलोनाले दुई दिन पछि नयाँ प्रशिक्षक नियुक्त गरेको थियो। नयाँ प्रशिक्षक नियुक्तिसँगै मेस्सीको बार्सिलोना बसाइ लम्ब्याउने सोचमा रहेको व्यवस्थापनले त्यस्तो हुन नसक्ने बुझिरहेको छ।
मेस्सीले क्लब छाड्न चाहेको विषयमा बार्सिलोना व्यवस्थापनको बैठक बसिरहँदा बार्सिलोनाको कार्यालयबाहिर सयौँ समर्थक भेला भएर अध्यक्ष बर्टामेउका विरुद्ध नाराबाजी गरेका थिए। जहाँ प्रहरी परिचालन गरेर अवस्था सामान्य पारिएको थियो।
क्याटालोनिया राज्यका प्रमुखदेखि केही प्रतिष्ठित व्यक्तिले समेत मेस्सीको बार्सिलोनामा रहँदाको समयलाई धन्यबाद दिँदै सामाजिक सञ्जालमा बिदाइको सन्देश बुझिने पोस्टहरु गरिरहेका छन्। जसका कारण पनि मेस्सीले क्लब छाड्ने विषयलाई थप आधिकारिकता दिएको छ।
अबको समय व्यवस्थापन र मेस्सीबीच क्लब छाड्ने र क्लबमै राखिरहने विषयमा थप विवाद बढ्ने देखिन्छ। बार्सिलोनाका केही पूर्वखेलाडीले पनि मेस्सीले छाड्न चाहेको विषय अन्तिम निर्णय भएको र त्यसलाई फर्काउन मिल्ने ठाउँ नहरेको बारेमा बताएको स्पेनिस सञ्चार माध्यममा खबर बनिरहेका छन्। केहीले भने अध्यक्ष बर्टामेउको राजीनामाले मेस्सीको बर्हिगमन रोक्न सक्ने बताइरहेका छन्।
यसअघि अन्तिमपटक क्लबसँग गरेको सम्झौतामा मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा पनि समावेश गरेका थिए। त्यतिबेला मेस्सी क्याटालोनियामा खुसी थिए। क्लबमा भइरहेका कामले चित्त दुःखे पनि छाडिहाल्ने मनस्थितिमा थिएनन्। तर मेस्सीले छाड्न सक्ने विषयले व्यवस्थापनलाई चनाखो बनाएन।
यसअघि पनि मेस्सीले बार्सिलोना छाड्न चाहेका बेला उनलाई क्लबमा नै राख्ने वातावरण बनाउन व्यवस्थापन उनीसँगको छलफलमा केही अघि बढेको पक्कै हो। त्यसको एउटै कारण उनी उत्कृष्ट खेलाडीका साथसाथै क्लबको व्यापारका लागि उत्कृष्ट माध्यम पनि हुन्।
बार्सिलोनामा मेस्सीको सुरुवाती दिनहरुमा जब उनले प्लेइङ सेटमा राम्ररी ठाउँ पाइरहेका थिएनन्, इटालियन क्लब इन्टर मिलान मेस्सी किन्न नजिक पुगिसकेको थियो। त्यतिबेलै उनको १ सय ५० मिलियन युरो तिर्न तयार रहेको मिलानले तलबसमेत तेब्बर गर्ने आश्वासन दिएको थियो। तर त्यसबेलाका बार्सिलोना अध्यक्ष योआन लापोर्ताको सुझबुझपूर्ण कामले मेस्सी रोकिए।
कर छलीका विषयमा एक सयम लगातार जस्तो मेस्सीमाथि भइरहको आक्रमणका दौरान पनि मेस्सीले बार्सिलोना छाड्ने सोचिरहेका थिए। त्यसबेला बार्सिलोना मात्र होइन उनी स्पेन नै छाड्न चाहन्थे। जसको समाधान भएपछि उनी पुरानै अवस्थामा मैदान फर्किन सकेका थिए। त्यसबेला पनि मेस्सी लैजान विश्वका जुनसुकै क्लब तयार थिए।
अहिले देखिएको अवस्था र मेस्सीले क्लब छाड्दैछन् भन्ने हल्ला तेस्रोपटक हो। यसपटकको कारण भने व्यवस्थापनको कार्यशैली भन्दा बाहेक अर्को केही होइन। अहिले पनि मेस्सीले क्लब छाड्दैछन् भन्ने खबरहरु बाहिरिरहँदा युरोपका ठूला क्लबहरु उनलाई भित्र्याउने दौडमा लागिसकेका छन्।
मेस्सी के गर्दैछन् भन्ने कुरा उनीबाटै थाहा पाउन मुस्किल छ। यसै पनि कम बोल्ने मेस्सी विवादमा आएका विषयमा त झन मौन प्राय रहन्छन्। १३ वर्षको उमेरमा बार्सिलोना आउँदादेखि अहिले विश्व उत्कृष्ट खेलाडी बन्दासम्म मेस्सीले मुस्किलले केही पटक सार्वजनिक रुपमा बोलेका छन्। यसैले ६ पटकका बालोन डिओर विजेताबारे आएका खबर काम नहुँदासम्म पुष्टि हुँदैनन्।